धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

चार आर्य सत्य

0 टिप्पणीहरू 830 आगन्तुकहरू

चार आर्य सत्यको कुरा गर्ने बित्तिकै प्रायः मानिसहरुले चार आर्य सत्य भनेको दुःख छ, दुःखको कारण छ, दुःख निरोधको अवस्था छ, दुःख निरोधसम्म पुग्ने मार्ग छ भन्दछन् । उनीहरूका अभिमतलाई मनन गर्दा चार आर्य सत्य कुनै कोरा बौद्धिक वा सैद्धान्तिक ज्ञान मात्र हो झै देखीन्छ । तर वास्तविकतामा यी चार आर्य सत्य कुनै वौद्धिक ज्ञान, धार्मिक मत, साम्प्रदायिक मान्यता आदि होइनन् । चार आर्य सत्य बुद्ध दर्शन पनि होइन । यी चार आर्य सत्य संसारका प्रत्येक मानव जीवनको यथार्थ वा सत्य हुन् । किनकि संसारका प्रत्येक मानिस दुःखी छ । प्रत्येक मानिसका दुःखका पछाडि कारण छन् । प्रत्येक मानिसको जीवनमा दुःख निरोध वा निर्वाण अवस्था छ । (स्मरणरहोस्) प्रत्येक मानिसमा निर्वाण वा दुःख निरोध स्थिति उपस्थित छ तर चित्तविकारले छोपिएकाले त्यसलाई बोध गर्न सकिरहेका छैनन् । यस दुःख निरोध वा निर्वाण अवस्थासम्म पुग्ने मार्ग वा साधनाविधि छ ।

तँपाई जीवनमा दुःख छ भन्ने सत्यलाई सहजै बुझ्नुहुन्छ । तपाईँ स्वयंको जीवनका दुःखको कारण छन् भन्ने सत्यलाई पनि केही हदसम्म बुझ्नुहुन्छ तर जीवनमा दुःख निरोध वा दुःख अनुपस्थित (निर्वाण) अवस्था छ भन्ने सत्यलाई भने अनुभूतिमा प्राप्त नभएकाले सहजै बुझ्न सक्नुहुन्न । तपाईँ निर्वाणको स्थितिमा पुग्ने दुःख निरोध मार्ग (साधनाविधि) छ भन्ने सत्यलाई पनि त्यस क्षणसम्म बुझ्नै सक्नुहुन्न जबसम्म तपाईँ आफैँ साधनाद्वारा निर्वाणावस्था प्राप्त गर्नुहुन्न ।

चार आर्य सत्य धर्मचक्र वा आर्य अष्टाङ्गमार्ग साधनाको सैद्धान्तिक आधार हो । किनकि यस साधनामा आर्य अष्टाङ्ग साधना वा विपश्यना (मार्ग सत्य) द्वारा दुःखको कारण (दुःख समुदय सत्य) लाई नष्ट गरी दुःख (दुख सत्य) को नाश र निर्वाण (दुःख निरोध सत्य) प्राप्त गरिन्छ । जब यी चार सत्यलाई साधनामा ‘विधिपूर्वक’ उतारेर तँपाई जन्म–जन्मान्तरका संस्कार नष्ट गरी अनार्य (सांसारिक) व्यक्तिबाट आर्य (सन्त) बन्नुहुन्छ त्यो क्षणमा यी चार सत्य चार आर्य सत्यमा परिणत हुनपुग्छ ।

दुःख आर्य सत्य

चार आर्य सत्यको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
‘‘इदं खो पन, भिक्खवे, दुक्खं अरियसच्चं – जरापि दुक्खा, जातिपि दुक्खा, ब्याधिपि दुक्खो, मरणम्पि दुक्खं, अप्पियेहि सम्पयोगो दुक्खो, पियेहि विप्पयोगो दुक्खो, यम्पिच्छं न लभति तम्पि दुक्खं– संखित्तेन पञ्चुपादानक्खन्धा दुक्खा ।
अर्थात् हे भिक्षुहरू ! के हो ? दुःख आर्य सत्य ? जन्म पनि दुःख हो । वृद्धावस्था पनि दुःख हो । रोग पनि दुःख हो । मृत्यु पनि दुःख हो । अप्रियसँगको संयोग पनि दुःख हो । प्रियसँगको विछोड पनि दुःख हो । इच्छित वस्तु प्राप्त नहुनु पनि दुःख हो । संक्षेपमा पाँच उपादान स्कन्ध (रूप, विज्ञान, संज्ञा, वेदना, संस्कार) नै दुःख हुन् ।

दुःख संसारको यथार्थ हो, संसारका प्रत्येक मानिसको जीवनको यथार्थ हो । यहाँ प्रत्येक मानिस आ–आफ्ना जीवनमा आ–आफ्नै कारणले दुःखी छन् । यहाँ प्रत्येक मानिस मनमा प्रतिक्षण दुःख (दुःखद संवेदना) उत्पन्न गरिरहेका छन् । कतै कोही मानिस क्षणिकरूपमा खुसी जस्ता देखिए पनि खुशी अर्थात् ती (सुखद संवेदना) पनि अनित्य धर्म वा स्वभावका भएकाले अन्ततः मानिस दुःखी नै हुन पुग्छ ।

भगवान् दुःख आर्य सत्यलाई व्याख्या गर्दै भन्नुहुन्छ– भिक्षुहरू ! जन्म हुनु पनि दुःख हो । वृद्धावस्था पनि दुःख हो । विमारी हुनु पनि दुःख हो । मृत्यु पनि दुःख हो । अप्रियसँगको संयोग पनि दुःख हो । प्रियसँगको विछोड पनि दुःख हो । दुःखका कारण अनन्त छन्, असङ्ख्य छन् ।

भगवान्ले माथि केही मात्र उदाहरण दिनुभएको छ । जब मानिस कुनै कारणवश दुःखी हुन्छ अथवा जब मानिसको मनमा दुखका अनुभूति (संवेदना) उत्पन्न हुन्छ तब उसले ती संवेदनालाई भोग्छ । संवेदनाहरूलाई भोग गरेकै कारण ऊ दुःखी, निराश, व्याकुल हुन पुग्छ । जब मानिस संवेदनालाई भोग्न थाल्छ, त्यस क्षणमा जेजस्तो संस्कारबीज प्राप्त भएको हुन्छ त्यही संस्कारबीजलाई सङ्ग्रह, विस्तार गर्छ र बीजअनुरूप फल दिने धम्मका नियमहरूका कारणले गर्दा ती विकार (मनको संवेदना भोग्ने स्वभाव) हरू झ्नझन् विस्तार हुन पुग्छ । फलतः ऊ झन्झन् दुःखी हुनपुग्छ, झन्झन् विकारयुक्त हुन पुग्छ र दुःख चक्रमा फसिरहन्छ । ऊ अनार्य वा सांसारिक वृत्तिको मानिस बनिरहन्छ, उसले सांसारिक वृत्तिकै विस्तार गरिरहेको हुन्छ ।

तर जब साधकले दुःख (दुःखद संवेदना) माथि साधना गर्छ, जब दुःख (दुःखद संवेदना) को गुण, धर्म, स्वभावप्रति जागरुक बन्छ, साक्षीभावी वा द्रष्टाभावी बन्छ । जब उ संवेदनाहरूप्रति जागरुक र प्रज्ञावान् बन्छ (स्मरण रहोस्—संवेदनाप्रति जागरुक र समभावी प्रज्ञापूर्ण स्थिति नै आर्य अष्टाङ्ग मार्ग साधना हो । यही नै विपश्यना हो) साधनाको यस क्षणमा धम्मका नियमहरूले यही समभाव बीजलाई विस्तार गरिदिँदा साधकको चित्तमा नयाँ विकार नबन्ने मात्र नभई जन्म–जन्मान्तरका विकार पनि क्रमशः नष्ट हँुदै जान्छन् ।

जब विकारहरू नष्ट हुन थाल्छन् तब साधकले विराट्कोे अवस्थामा प्रवेश गर्छ, इन्द्रियातीत क्षेत्रमा प्रवेश गर्छ, निर्वाणको क्षेत्रमा प्रवेश गर्छ र अन्ततः साधनाको सिद्धावस्था निर्वाण प्राप्त गर्छ । यसरी दुःखको साधना (दुःखद संवेदनाको समभाव र प्रज्ञापूर्ण अवलोकन) बाट साधकले निर्वाण प्राप्त गर्छ, यसरी दुःख सत्य आर्य सत्य बन्छ ।
जब दुःख (दुःखद संवेदना) का चर्चा गरिन्छ तब सुख (सुखद संवेदना) का पनि प्रसङ्ग उठ्छ । सुखद संवेदनाहरू झट्ट हेर्दा दुःख जस्ता प्रतीत हँुदैनन्, सुखद नै लाग्छन् तर ती सुखद अनुभूति पनि क्षणिक वा अनित्य स्वभावका भएकाले अन्ततः विलाएरै जान्छन् । प्रियसँगको विछोड पनि दुःखमा परिणत भए जस्तै सुख (सुखद संवेदना) पनि अन्ततः दुःखमै परिणत हुन्छ । अनि त्यस क्षणमा मानिस दुःखी हुने (संवेदनाहरू भोग गर्ने) हुनाले सुखद संवेदनाहरूले पनि संस्कारै उत्पन्न गर्छन् र अन्ततः दुःखमै परिणत हुन पुग्छन् ।

साथै दुःखद संवेदनाका भोगले चित्तमा संस्कार उत्पन्न गरे जस्तै सुखद संवेदनाका भोगले पनि चित्तमा संस्कारै उत्पन्न गर्छ । मानिस जतिजति सुखद संवेदना भोग्न थाल्छ उतिउति उसमा यी संवेदनाप्रतिको भोग तृष्णा विस्तार हुन पुग्छ । फलतः उसले प्रतिक्षण यिनै सुखद संवेदना प्राप्त गर्ने प्रयास गरिरहन्छ, विषय प्राप्त गर्ने प्रयास गरिरहन्छ, कर्म भोग गर्ने प्रयास गरिरहन्छ, जुन धम्मको नियमानुसार संस्कारै बनिरहन्छ ।

दुःख (दुःखद संवेदना) माथिको साधनामा एक महत्वपूर्ण पक्ष के छ भने जब साधकको मनमा दुःखद संवेदना उत्पन्न हुन्छन् तब साधक धेरै हदसम्म यी संवेदनाप्रति समभावी बन्न सफल हुन्छ तर जब मनमा सुखद संवेदना उत्पन्न हुन्छन् वा जब साधना गहिरिँदै जाँदा साधकमा भङ्ग (शरीरको स्थूलपना समाप्त भएर मधुर सूक्ष्म तरङ्ग उदय र व्ययको बोध रहने स्थिति), प्रिति प्रमोद (मनमा उत्पन्न हुने आनन्दका लहर), प्रश्रब्धि (कायको शान्तपना, आनन्दपना), अष्टकलाप (पृथिवी, अग्नि, वायु, जल चार भूतबाट उत्पन्न हुने सुखद तरङ्ग) आदि अवस्था प्राप्त हुन थाल्छ । यी अवस्थामा उत्पन्न हुने संवेदना सुखद प्रकृतिका हुने हुनाले यी सुखद सूक्ष्म संवेदनप्रति साधकलाई समभावी बन्न कठिन हुन्छ । यी अवस्थामा मनलाई सूक्ष्म सुखद संवेदनाका उदय र व्ययरूपी सतत धारा वा अनित्य स्वभावलाई अनुभूति गर्न वा समात्न निकै कठिन हुन जान्छ ।

स्तो अवस्थामा कैँयौँ साधक यिनै सुखद अनुभूतिलाई निर्वाणको अनुभूति मानेर भोग गर्न थाल्छन् । फलतः साधकको मनमा सुखद संवेदनाप्रति राग उत्पन्न हुन पुग्छ । साधक साधनाको मूल मर्म समभावको स्थितिबाट च्यूत हुन पुग्छ तर जब यी सूक्ष्म सुखद संवेदनाप्रति साधक समभावी बन्दै जान्छ, धैर्यतापूर्वक समभावी साधनालाई निरन्तरता दिँदै जान्छ तब ऊ देह र चित्तमा उत्पन्न सम्पूर्ण संवेदनाका क्षेत्रलाई पार गरेर इन्द्रियातीत निर्वाण क्षेत्रमा पुग्छ । यसरी दुःख सत्य आर्य सत्यमा परिणत हुन्छ । साधक आर्य वा विकाररहित शुद्ध चित्तयुक्त सन्त बन्छ ।

माथिको श्लोकको अन्त्यमा भगवान्ले दुःख आर्य सत्यको महत्वपूर्ण पक्षमा प्रकाश पार्दै भन्नुभएको छ कि मूलतः पाँच स्कन्ध (देह र चित्तका चार स्कन्ध, विज्ञान, संज्ञा, वेदना, संस्कारहरू) प्रतिको आशक्ति नै मुख्य दुःख हो । यहाँनेर के प्रश्न उठ्न सक्छ भने आखिर किन पाँच स्कन्धप्रतिको आशक्ति नै मुख्य दुःख हो ? उत्तर यही हो कि पाँच स्कन्धप्रतिको आशक्तिबाट म र मेरो रूपको मूल अविद्या भाव उत्पन्न हुनपुग्छ । यही अविद्याका कारण मानिसले आफूलाई देह मानेर संवेदनाहरू भोग गर्छ । यसै कारणले पाँच स्कन्धप्रतिको आशक्तिलाई दुःख मानिएको हो ।

जबसम्म अविद्या रहिरन्छ तबसम्म साधक ‘म’ र ‘मेरो’ को परिधिबाट बाहिर निस्कन सक्दैन । ऊ पाँच स्कन्धको क्षेत्रमै सीमित रहन्छ, सुखद–दुःखद अनुभूतिको क्षेत्रमै रहन्छ, बन्धन र विकारकै क्षेत्रमा रहन्छ । यसैले पञ्चस्कन्धप्रतिको आशक्ति दुःख हुन पुग्छ । जब दुःख आर्य सत्यमाथि साधना गरिन्छ तब साधना सिद्धिकालमा ‘म’ र ‘मेरो’ को भाव नाश हुन्छ र साधकले अन्ततः निर्वाण प्राप्त गर्छ ।

दुःखसमुदय आर्य सत्य

‘‘इदं खो पन, भिक्खवे, दुक्खसमुदयं अरियसच्चं– यायं तण्हा पोनोब्भविका नन्दिरागसहगता तत्रतत्राभिनन्दिनी, सेय्यथिदं कामतण्हा, भवतण्हा, विभवतण्हा ।’’

अर्थात् भिक्षुहरू ! नन्दीरागसँग जोडिएको, जुनसुकै विषयको अभिनन्दन गर्ने, पटकपटक उत्पन्न हुने जुन तृष्णा छ (जस्तै कामतृष्णा, भवतृष्णा, विभवतृष्णा आदि) त्यही नै दुख समुदय आर्य सत्य हो ।

दोस्रो आर्य सत्य हो– दुःख समुदय वा दुःख उत्पत्तिका कारण रूपतृष्णा । यहाँनेर के प्रश्न उठ्न सक्छ भने यो तृष्णा भनेको के हो ? प्रिय विषयबाट प्राप्त हुने सुखद संवेदनाप्रतिको भोग इच्छा र अप्रिय विषयबाट प्राप्त हुने दुःखद विषयप्रतिको वितृष्णा वा भोग अनिच्छा छ त्यही नै तृष्णा हो । स्मरणरहोस् यदि कुनै मानिसलाई कुनै विषय प्रिय वा अप्रिय छ भने मूलतः त्यो विषयबाट प्राप्त हुने संवेदनाकै कारण हुन्छ । विषयप्रतिको तृष्णा पूर्णरूपमा संवेदनासँग जोडिएको हुन्छ । यो विषयबाट प्राप्त हुने संवेदनाप्रतिको तृष्णा प्रतिपल उत्पन्न हुन्छ, कहिले कुनै विषय त कहिले कुनै विषयसँग सम्बन्धित राग वा द्वेष संवेदना लिएर उत्पन्न हुन्छ ।

भगवान् भन्नुहुन्छ कि मानिसको जीवनमा तीन प्रकारका तृष्णा छन् । कामतृष्णा, भवतृष्णा र विभवतृष्णा ।
कामतृष्णा :– कामवासनासहित छ इन्द्रिय (नाक, कान, आँखा, जिब्रो, छाला र मन) सँग जोडिएका सम्पूर्ण कामना वा तृष्णा कामतृष्णा हुन् । कामतृष्णा अनन्त छन्, असङ्ख्य हुन्छन् । ६ इन्द्रियसँग जोडिएका यी असङ्ख्य इच्छा, कामना, तृष्णा (जुन संस्कारका रूपमा सङ्ग्रह भएका हुन्छन्) मानिसका मनमा प्रतिपल उत्पन्न भएर मनलाई व्याकुल बनाइरहेका हुन्छन् । यिनै अनेक रागपूर्ण र द्वेषपूर्ण तृष्णाका कारण मानिस जन्मदेखि मृत्युपर्यन्त दौडिरहन्छ, दुःख पाइरहन्छ । यसरी यही कामतृष्णा नै दुःखको कारण बन्छ । स्मरणरहोस् आर्य अष्टाङ्गमार्ग साधनामा जब तृष्णा भनिन्छ ती विषयको तृष्णा नभई विषयबाट जन्मने संवेदनाप्रतिको तृष्णा भन्ने बुझिन्छ । आर्य अष्टाङ्ग साधना संवेदनामाथि गरिने भएकाले साधकले विषय र विषयबाट उत्पन्न हुने संवेदनाको पृथकताप्रति होशपूर्ण हुनु अत्यावश्यक हुन्छ । विषय र विषयबाट उत्पन्न हुने संवेदनाप्रतिको पृथकतालाई बुझ्न नसक्दा कैँयौँ साधक इन्द्रियका विषयबाट पृथक रहने हेतुले हिमाल, पर्वत, गुफा आदिमा तपस्या गर्न पुग्छन् । इन्द्रियलाई विषयबाट निवृत्त गर्न देहपीडक तपस्यामा संलग्न हुन्छन् । यसैले साधकहरू विषय र विषयसंवेदनाको पृथकतामा स्पष्ट हुन जरुरी छ ।

भवतृष्णा :–यो भनेको ‘म’ प्रतिको तृष्णा हो । ‘म’ सधैँ जुनसुकै अवस्थामा पनि बाँचिरहूँ भन्ने तृष्णा नै भवतृष्णा हो । यस तृष्णामा साधक बाह्यरूपमा भन्छ कि यो संसारमा दुःख छ र यसबाट छुटकारा पाउनुपर्छ तर उसले मनमा भने ‘म’ कुनै न कुनैरूपमा रहनुपर्छ भन्ने तृष्णा राख्छ । मृत्युपश्चात् पनि चाहे त्यो स्वर्गलोक, ब्रह्मलोक, निर्वाण जेजस्तो स्थिति भए पनि ‘म’ आत्मा वा अन्य कुनै न कुनैरूपमा रहनैपर्छ भन्ने तृष्णा मनमा राखिरहन्छ । उसले ‘म’ नष्ट भएको कल्पनै गर्न सक्दैन । यही तृष्णा नै भवतृष्णा हो । यो ‘म’ प्रतिको एक गहन आशक्ति हो । जबसम्म ‘म’ प्रति आशक्ति रहन्छ तबसम्म साधकमा कर्ताभाव, भोक्ताभाव नष्ट हुँदैनन्, ‘म’ रूपी मूल अविद्या नष्ट हुँदैन । जबसम्म ‘म’ रूपी तृष्णा नष्ट हुँदैन तबसम्म संवेदनाहरूका भोग चलिरहन्छ । यस्तो स्थितिमा साधकले अनात्मबोधको स्थिति प्राप्त गर्न सक्दैन । फलतः दुःखचक्र, भवचक्र, लोकचक्र प्राप्त भइरहन्छ ।

विभवतृष्णा :– एउटा अति छ भवतृष्णा वा जुनसुकै स्थितिमा ‘म’ बाँच्नुपर्‍यो, म रहनुपर्‍यो भन्ने तृष्णा । दोस्रो अति छ विभवतृष्णा, जुन तृष्णामा साधकको मलाई मुक्त हुनुछ, मलाई यस भवचक्रबाट छुट्नुछ जस्ता भाव मनमा रहन्छ । यस विभवतृष्णामा ‘म’ भावलाई प्रत्यक्ष रूपमा बचाउन नखोजिएको जस्तो देखिए पनि यस विभवतृष्णाको केन्द्रमा पनि ‘म’ नै छ । यो अदृष्य जस्तो छ तर म मुक्त हुन चाहन्छु भन्ने तृष्णामा ‘म’ उपस्थित छ । जबसम्म ‘म’ उपस्थित छ तबसम्म साधकमा मूल अज्ञान वा मूल अविद्या उपस्थित रहन्छ । जबसम्म अज्ञान उपस्थित रहन्छ तबसम्म मनमा उठेका संवेदनाप्रति भोक्ताभाव उपस्थित रहन्छ । यसरी ‘म’ बाँचिरहेको स्थितिमा अनात्म बोधको अवस्था प्राप्त हुँदैन, निर्वाण स्थिति प्राप्त हुँदैन ।

दुःख निरोध आर्य सत्य

‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधं अरियसच्चं– यो तस्सायेव तण्हाय असेसविरागनिरोधो चागो पटिनिस्सग्गो मुत्ति अनालयो ।’’

अर्थात् भिक्षुहरू ! यो हो दुःख निरोध आर्य सत्य, जुन तृष्णाको सर्वथा विराग–निरोध, त्याग, प्रतिनिसर्ग, मुक्ति, अनालयको अवस्थामा छ ।

यहाँनेर सर्वप्रथम प्रष्ट हुनुपर्ने के छ भने यो निरोध भनेको के हो ? हाल निरोधको अर्थ रोक्नु, दबाउनु आदि अर्थमा रहेको छ तर भगवान्को समयमा निरोधको अर्थ हुन्थ्यो जरादेखि नै उखेलेर फाल्नु ।

त्यसैले दुःख निरोध त्यो अवस्था हो, जहाँ दुःख (दुःखद संवेदना) सधैँका लागि समाप्त भएको हुन्छ । यस अवस्थामा दुःखका जरा वा विकार साधनाका कारण उच्छेद भएर नष्ट भएका हुन्छन् । यी जरा यसरी नष्ट हुन्छन् कि पुनः पलाउने सम्भावना नै रहेको हुँदैन । यस अवस्थामा जुन विषयप्रति मनमा तृष्णा उत्पन्न भएको हुन्छ ती सम्पूर्ण विषयका तृष्णा समाप्त भएका हुन्छन् र जीवनको जुन निर्वाण अवस्था छ त्यो प्राप्त हुन्छ । यस अवस्थामा विषय र इन्द्रियको मिलनबाट मनमा सुखद वा दुखद जुनसुकै संवेदना उत्पन्न भए पनि मनले ती संवेदनालाई भोग गर्दैन, जसले गर्दा निर्वाण प्राप्त पुरुष साधारण मानिस जस्तै सुखद संवेदना प्राप्त हुँदा खुसी हुने गर्दैनन् र दुःखद संवेदना प्राप्त हुँदा दुःखी हुने पनि गर्दैनन् । अर्थात् मनका संवेदनाले निर्वाण प्राप्त पुरुषलाई विचलित गर्न सक्दैन । चित्त पूर्णरूपमा जुनसुकै स्थितिमा पनि पूर्ण समभावको अवस्थामा रहन्छ ।

जुन साधकले दुःख निरोध आर्य सत्यमा साधना गर्छ अथवा दुःख निरोध (निर्वाणको अवस्था) प्राप्त गर्ने प्रयास गर्छ उसले यो साधना पनि देह र चित्तको क्षेत्रमा नै गर्छ, देह र चित्त क्षेत्रका संवेदनामाथि नै गर्छ । जब शरीर र चित्तमा संवेदना उत्पन्न हुन्छन्, जब उत्पन्न संवेदनाप्रति मनमा द्वेष वा रागपूर्ण तृष्णा जाग्छ त्यस क्षणमा ऊ स्मृतिवान् बन्छ, प्रज्ञावान् बन्छ, संवेदनाप्रति समभावी वा द्रष्टाभावी बन्छ र सम्यक दृष्टिले यी संवेदनाका अनित्य गुण, स्वभाव र धर्मलाई अवलोकन गरिरहन्छ । यी अनित्य स्वभावका तरङ्ग देह र चित्तको क्षेत्रमा उठ्दै बिलाउँदै गरेको अनुभूति गरिरहन्छ । यही नै आर्य अष्टाङ्गमार्ग साधना हो । साधकले अन्ततः यही साधना प्रक्रियाद्वारा साधनाका विभिन्न चरण पार गर्दै दुःख निरोध वा निर्वाण अवस्था प्राप्त गर्छ ।

दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य

‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं– अयमेव अरियो अट्ठङ्गिको मग्गो, सेय्यथिदं– सम्मादिट्ठि सम्मासङ्कप्पो सम्मावाचा सम्माकम्मन्तो सम्माआजीवो सम्मावायामो सम्मासति सम्मासमाधि ।’’

अर्थात् भिक्षुहरू ! यो हो दुःख निरोध गामिनी प्रतिपदा (दुःख निरोधतर्फ जाने मार्ग) आर्य सत्य, यही हो आर्य अष्टाङ्ग मार्ग, जहाँ सम्यक दर्शन, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजिविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् ।

स्मरणरहोस् दुःख निरोध गामिनी प्रतिपदा आर्यसत्य वा आर्य अष्टाङ्ग मार्ग साधनाका आठ साधना अङ्गका व्याख्या गरिसकिएकाले यहाँ पुनः व्याख्या गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 688 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 519 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 525 0
गुरु अलार कालमसँग भेट 1/12/2023 600 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 540 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 556 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 415 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 527 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 537 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 589 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 542 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1114 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 522 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 642 0
उपक आजीवनसँग भेट 1/13/2023 549 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 558 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 565 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 567 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 640 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 653 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 630 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 590 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 536 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 681 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 505 0
दुःख समुदय आर्य सत्य 1/13/2023 595 0
दुःख निरोध आर्यसत्य 1/13/2023 522 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 610 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 685 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 554 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 570 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 567 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 536 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 553 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 600 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 510 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 589 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 569 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 603 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 523 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 556 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 496 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 459 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 570 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 483 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 501 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 573 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 610 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 563 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 671 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 494 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 482 0
दसौँचरण-अनित्य बोध 1/13/2023 495 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 600 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 478 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 640 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 555 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 519 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 538 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 539 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 692 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 608 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 549 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 659 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 543 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 680 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 681 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 855 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 723 0