गुरुको अन्तिम उपदेश

0 टिप्पणीहरू 1092 आगन्तुकहरू

मोक्ष प्राप्त गरेको शिष्यलाई गुरुदेव तलका श्लोकहरूमा अन्तिम वचनहरू भन्नुहुन्छ ।

इति नतमवलोक्य शिष्यवर्यं समधिगतात्मसुखं प्रबुद्धतङ्खवम् ।
प्रमुदितहृदयः स देशिकेन्द्रः पुनरिदमाह वचः परं महात्मा ।।५२१।।
यसप्रकार आत्मसुख र आत्मतङ्खवलाई जान्ने विनम्र श्रेष्ठ शिष्यलाई देखेर महात्मा गुरुदेव प्रसन्नचित्र भएर यसप्रकार परम वचनहरू भन्न थाल्नुभयो । ।।५२१।।

प्रथमत् श्रेष्ठ शिष्यसँग गुरु प्रायशः प्रसन्न नै रहन्छन् । शिष्यले आत्मज्ञान प्राप्त गर्नु कुनै पनि गुरुलाई प्रशन्नताको विषय हुन्छ । जब आत्मज्ञान प्राप्त गरेका शिष्यले वारम्वार विनम्रभावले नमस्कार गर्दै गुरुदेवलाई कृतज्ञता ज्ञापन गरिरहे । आत्मज्ञानी यस्तो उत्तम शिष्यलाई देखेर गुरुदेव अत्यन्त प्रशन्न हुनुभयो । शिष्यलार्ई पुनः केही परम श्रेष्ठ वचनहरू भन्न थाल्नुभयो ।

ब्रह्मप्रत्ययसन्ततिर्जगदतो ब्रह्मैव सत्सर्वतः
पश्याध्यात्मदृशा प्रशान्तमनसा सर्वास्ववस्थास्वपि ।
रूपादन्यदवेक्षितुं किमभितश्चक्षुष्मतां विद्यते
तद्वद् ब्रह्मविदः सतः किमपरं बुद्धेर्विहारास्पदम् ।।५२२।।

हे प्रिय ! यो जगत् ब्रह्म प्रतितिको प्रवाह हो । तिमी सम्पूर्ण अवस्थाहरूमा आध्यात्मिक दृष्टिबाट सत्स्वरूप ब्रह्ममात्र देख । जसरी नेत्रयुक्त व्यक्तिको लागि चारैतर्फ रूपको अतिरिक्त अन्य के छ र ? यसैप्रकार ब्रह्मज्ञानीको बुद्धिको विषय सत् ब्रह्मभन्दा अन्य के हुन सक्दछ र ?।।५२२।।

यथार्थमा परमज्ञान प्राप्त भइसकेपछि जान्नु बुझ्नुपर्ने केही रहँदैन । गुरुहरूलाई भन्नुपर्ने विषयवस्तु केही रहँदैन । यति हुँदाहुँदै पनि आत्मसाक्षात्कार पछाडि पूर्वसंस्कारको कारण जगत् प्रवृत्तिको सम्भावना, ज्ञानोत्तरकालमा ज्ञानीको आचरण, देहपात वा विदेहमुक्ति आदि केही विषय छन् । जुन गुरुहरू शिष्यको मनमा शंकारूपी कुनै अंकुर पलाएर जगत्प्रतिको यात्रा सुरू नहोस् शिष्यको ब्रह्मनिष्ठा परिपक्व पूर्ण होस् भन्ने ध्येयले भन्नुहुन्छ । गुरुदेव भन्नुहुन्छ कि हे प्रिय !

यो सम्पूर्ण जगत््मात्र ब्रह्मको प्रतिति हो । ब्रह्मभन्दा अन्य वस्तु यहाँ केही छैन भन्ने अनुभूति तिमीले प्राप्त गरिसक्यौ । यसैले तिमी सधैं जगत्का यी सम्पूर्ण वस्तुहरूमात्र ब्रह्म हुन भन्ने जुन अनुभूति प्राप्त गरेको छौं । त्यो भावमा नित्य अटल वस् । तिमी यो ब्रह्मभावलाई झन झन सघन वनाउ । कुनै दोश्रो विचार संशय वा भावना मनमा उठ्न नदेउ । किनभने जसरी नेत्रयुक्त पुरुषले जगत्मा रूपको अतिरिक्त देख्न लायक केही हुँदैन । त्यस्तै तिमी जस्ता आत्मज्ञानी पुरुषलाई ब्रह्मभन्दा स्मरण देख्न, सुन्न लायक वस्तु के हुन्छ र ?

कस्तां परानन्दरसानुभूतिमुत्सृज्य शून्येषु रमेत विद्वान्् ।
चन्द्रे महाह्लादिनि दीप्यमाने चित्रेन्दुमालोकयितुं क इच्छेत् ।।५२३।।
त्यो परमानन्दरसको अनभूति छोडेर अर्थहीन विषयमा कुन विद्वान् आकर्षित हुन्छ र ? अत्यन्त आनन्ददायक पूर्णचन्द्र प्रकाशित हुँदाहुँदै कागजमा कोरिएको (चित्र लिखित) चित्र चन्द्रमालाई हेर्ने इच्छा कसलाई हुन्छ र ?५२३।।

मनुष्य मन जुन वस्तुबाट धेरै आनन्द प्राप्त गर्दछ त्यही वस्तुप्रति स्वभावतः आकर्षित हुन्छ । मोक्ष मनको प्रवाह जगत्बाट ब्रह्मतिर वग्नु हो । जब नित्य ब्रह्मको परमआनन्द परमशान्ति पाएर मन पूर्ण तृप्त हुन्छ । यस्तो अवस्था प्राप्त गरेको विद्वान् ज्ञानी कसरी विषसमान विषयहरूका क्षणिक अनित्य आनन्दप्रति आकर्षिक हुन्छ र ? उदाहरणको रूपमा आकाशको पूर्णचन्द्रमा र कागतमा कोरिएका चन्द्रमाको तुलना गर्दै आदिगुरु भन्नुहुन्छ कि मधुर प्रकाशले जगमगाइरहेको पूर्णिमाको चन्द्रमाको सौन्दर्य प्राप्त हुँदाहुँदै जतिसुकै सुन्दर किन नहोस् कागजमा कोरिएको हस्तलिखित चन्द्रमा हेर्ने इच्छा कसलाई हुन्छ र ? वा हुँदैन । त्यसैले हे शिष्य परमब्रह्मको रस प्राप्त गरिसकेपछि अर्थहीन विषयमा कुनै ज्ञानी विद्वान् आकर्षित हुँदैन । त्यसैले तिमी यही परमब्रह्मको माधुर्य रस नित्य पिई विषयको स्मरणसम्म नगर ।

असत्पदार्थानुभवे न किञ्चिन्न ह्यस्ति तृप्तिर्न च दुःखहानिः । तदद्वयानन्दरसानुभूत्या तृप्तः सुखं तिष्ठ सदात्मनिष्ठया ।।५२४।।
असत् पदार्थको अनुभवबाट न केही तृप्त हुन्छ । न त दुःखको नै नाश हुन्छ । अतः अद्वितीय आनन्दरसको अनुभवबाट तृप्त भएर सधैं सत्य आत्मनिष्ठामा स्थित भएर सुखपूर्वक बस् । ।।५२४।।

हे वत्स ! तिमीले स्वयंको अनुभूतिबाट पनि ज्ञान गरेका छौ कि आत्माको अतिरिक्त जतिपनि अनात्म पदार्थ छन् । यी पदार्थहरूको भोग वा अनुभवबाट कहिल्यै कसैलाई तृप्ती हुँदैन । न त यी पदार्थहरूको भोगद्वारा दुःखको नै नाश हुन्छ । यसको विपरित, इन्द्रिय र विषयको संयोगबाट उत्पन्न हुने आनन्द अन्ततः दुःखको कारण बन्दछ । यसैले जुन अद्वितीय आनन्दरसको अनुभव तिमीलाई प्राप्त भएको छ । तिमी यो आनन्दको अनुभूतिलाई विस्तृत आनन्दमा तृप्त भएर सधैं आत्मनिष्ठामा स्थित रहि सुखपूर्वक यो जीवनलाई व्यतित गर ।

स्वमेव सर्वथा पश्यन् मन्यमानः स्वमद्वयम् ।
स्वानन्दमनुभुञ्जानः कालं नय महामते ।।५२५।।
हे महाबुद्धिमान । तिमी सबैतिर स्वयं (ब्रह्म) लाई देखेर स्वयंलाई अद्वितीय मान्दै आत्मानन्दको अनुभव गर्दै कालयापन गर । ।।५२५।।

शिष्यलाई महाबुद्धिमानको सम्मान दिँदै गुरुदेव भन्नुहुन्छ । हे महाबुद्धिमान ! मोक्ष प्राप्त गरेर मनुष्य जीवनको सबैभन्दा ठूलो दायित्व महान् पुरुषार्थद्वारा स्वयंको उपकार प्राप्त गरिसकेकोले अब तिम्रो कर्तव्य केही शेष रहेन । जीवनमा जुन महान् कर्तव्य स्वयंको आत्माको उद्धार गर्नु पर्दथ्यो त्यो तिमीले गरिसक्यौ । अब तिमीलाई ब्रह्मभावको जुन परमानन्द प्राप्त भएको छ । त्यो परमपदमा स्थिर रही चारैतिर स्वयंलाई उपस्थित मान्दै, अद्वितीय मान्दै, ब्रह्म आनन्दको नित्य रसमा डुबी कालायापन गर । जुन दिन शरीरको प्रारब्ध समाप्त हुन्छ । तिम्रो शरीर त्यही दिन नष्ट हुनेछ । त्यो क्षणसम्म तिमी यही ब्रह्मनिष्ठ स्थितिमा स्थिर बन् । ताकि पुनः यो अनर्थरूपी जगत्को स्मरण नहोस् ।

अखण्डबोधात्मनि निर्विकल्पे विकल्पनं व्योम्नि पुरःप्रकल्पनम् । तदद्वयानन्दमयात्मना सदा शान्तिं परामेत्य भजस्व मौनम् ।।५२६।।
निर्विकल्प, अखण्डज्ञानस्वरूप आत्मामा कुनै विकल्पको कल्पना गर्नु आकाशमा नगर (शहर) को कल्पना गर्नु जस्तै हो । त्यसैले सदा अद्वितीय आनन्दमय आत्मारूपमा स्थित भएर परमशान्तिलाई प्राप्त गरेर मौन धारणा गर । ।।५२६।।

मोक्ष प्राप्त गरिसकेको शिष्यमा पुनः जगत्को स्मरणसम्म नहोस् आत्माकै बारेमा संशय सिर्जना नहोस् भनि ब्रह्मभावलाई अझ दृढ गराउन गुरुदेव भुन्नुहुन्छ कि साधन चतुष्ट्य र निर्विकल्प समाधिद्वारा विकल्प वा भेद रहित, विशुद्ध असंग, अखण्ड ज्ञान स्वरूप आत्मामा स्थित भइसकेपछि आत्मामा कुनै विकल्पको कल्पना गर्नु आकाशमा शहरको कल्पना गर्नुजस्तै असम्भव हो ।

त्यस्तै हे शिष्य ! जुन ब्रह्मपद तिमीलाई प्राप्त भएको छ । तिमी सदा त्यही अद्वितीय आनन्दमय आत्मपदमा स्थिर भएर परमशान्तिको अनुभव गर । तिमी गहन शान्तिबाट प्राप्त हुने मौनतालाई ग्रहण गर ।

तूष्णीमवस्था परमोपशान्तिर्बुद्धेरसत्कल्पविकल्पहेतोः ।
ब्रह्मात्मना ब्रह्मविदो महात्मनो यत्राद्वयानन्दसुखं निरन्तरम् ।।५२७।।
मिथ्या विकल्पहरूको हेतुभुता (कारण) बुद्धिको मौन अवस्था नै परमशान्ति हो । जुन अवस्थामा ब्रह्मवेत्ता महात्माहरू ब्रह्मरूपमा स्थित रहेर निरन्तर अद्वितीय ब्रह्मानन्दको अनुभव गर्दछन् । ।।५२७।।

यो श्लोकमा बुद्धि शब्दलाई मन भनेर वुझ्नु पर्दछ । सम्पूर्ण मिथ्या विकल्प (कल्पना)हरूको कारण मन हो । जब मन संकल्प विकल्प गर्दैन वा जब मन विलय हुन्छ त्यो स्थितिलाई शास्त्रमा तुष्णीभाव भनिएको छ । यो तुष्णीभावको स्थितिलाई परमशान्ति अवस्था भनिएको छ ।

यही तुष्णीभावको अवस्थामा रहेर ज्ञानीहरू ब्रह्मानन्द आनन्दको रसपान गर्दछन् । यो श्लोकमा गुरुदेव भन्नुहुन्छ कि हे शिष्य ! मिथ्या कल्पनाको कारण मन, ब्रह्ममा विलीन भएर जुन परमशान्तिरूप मौन (स्थिर मन) तिमीलाई प्राप्त भएको छ । महान् ब्रह्मवेत्ताहरू पनि यही स्थितिमा रहेर अद्वितीय ब्रह्मानन्दको अनुभूति वा रसपान गर्दछन् । तिमी पनि यही स्थितिमा स्थिर रहेर नित्य अद्वितीय ब्रह्मानन्दको अनुभूति गर ।

नास्ति निर्वासनान्मौनात्परं सुखकृदुत्तमम् ।
विज्ञातात्मस्वरूपस्य स्वानन्दरसपायिनः ।।५२८।।
जसले आत्म स्वरूपलाई जानेको छ । त्यो ब्रह्मानन्द रसलाई पान गर्ने पुरुषको लागि वासनारहित मौन भन्दा ठूलो सुखदायक अन्य केही पनि हुँदैन । ।।५२८।।

जुन ज्ञानीले आत्मज्ञानको स्थिति प्राप्त गरी ब्रह्मानन्द रसको आनन्दलाई प्राप्त गरेको छ । त्यो पुरुषको लागि वासनारहित मौन (मनको गहन शान्ति) भन्दा ठूलो सुखदायक अन्य केही हुँदैन । त्यसैले हे शिष्य ! तिम्रो मन ब्रह्ममा विलय हुँदा आज जुन गहिरो शान्ती र मौनता तिमीमा जन्मिएको छ । यो भन्दा ठूलो सखुदायक केही पनि छैन । तिमी सदैव मनको यो मौनता वा संसारको महान् सुखको नित्य आनन्द लिइराख ।

गच्छंस्तिष्ठन्नुपविशञ्छयानो वान्यथापि वा ।
यथेच्छया वसेद्विद्वानात्मारामः सदा मुनिः ।।५२९।।
सधैं आत्मामा रमण गर्ने महात्माहरू हिँड्दा, उठ्दा, बस्दा, सुत्दा, अथवा कुनैपनि अवस्थामा निरन्तर आत्मामा नै रमण गर्दछन् । ।।५२९।।

आत्मभावमा स्थित महात्माहरू हिँड्दा, उठ्दा, बस्दा, सुत्दा अथवा कुनै पनि अवस्थामा आत्मासँग आत्मभावमा रहन्छन् । जसरी अज्ञानी पुरुषको मन निरन्तर वासनामय वस्तुहरूमा रहन्छन् । जसरी अज्ञानी पुरुष जगत् सम्बन्धको कारण दुःख, सुख, क्षोभ, शोक आदि अवस्था प्राप्त गर्दछन् । त्यस्तै मुक्तपुरुषको सम्बन्ध आत्मासँग रहन्छ । सधैं आत्मामा रमण गर्ने हुनाले तिनीहरूले नित्य शान्त आनन्दको अनुभूति गर्दछन् ।

न देशकालासनदिग्यमादि–लक्ष्याद्यपेक्षाऽप्रतिबद्धवृत्तेः ।
संसिद्धतङ्खवस्य महात्मनोऽस्ति स्ववेदने का नियमाद्यपेक्षा ।।५३०।।
अप्रतिवद्धवृत्तीयुक्त (आत्मालिन) आत्मसाक्षात्कार प्राप्त महात्मालाई ध्याना दिनको लागि देश, काल, आसन, दिशा, यम, नियम, लक्ष्य आदिको आवश्यकता पर्दैन । स्वयंलाई जान्नको लागि नियम आदिको अपेक्षा किन पर्दछ । ।।५३०।।

साधनाकालमा साधकको लागि देश,काल, परिस्थिति सहयोगी हुन्छन् (श्लोक १४) तर निर्विकल्प समाधिद्वारा आत्मा साक्षात्कार प्राप्त गरि स्वयं ब्रह्म भइसकेको महात्मालाई ध्यानादि, साधनादिको कुनै विशेष देश, काल, आसन, दिशा, यम, नियम आदिको आवश्यकता पर्दैैन । ब्रह्मभावमा स्थित महापुरुषलाई कुनै प्रकारको अपेक्षा किन रहन्छ र ? यदि कुनै अपेक्षा उपस्थित छ भने द्वैत सत्ताको उपस्थिति छ ।

घटोऽयमिति विज्ञातुं नियमः को न्वपेक्ष्यते ।
विना प्रमाणसुष्ठुत्वं यस्मिन्सति पदार्थधीः ।।५३१।।
जसलाई पदार्थको ज्ञान छ । उसलाई उपयुक्त प्रमाण बाहेक यो घडा हो भनेर जान्नको लागि अन्य कुन नियमको आवश्यकता पर्दछ र ? ।।५३१।।

उपयुक्त प्रमाणबाट वस्तुको यथार्थ ज्ञान प्राप्त हुन्छ । उदाहरणको लागि कुनै पुरुषले संसारका वस्तुहरू पदार्थहरू चिनेको छ । उसले यो घैंटो हो भनेर चिनेको छ । त्यो पुरुषलाइ घैंटो चिन्नको लागि उपयुक्त वस्तुको प्रमाण (घैंटोको उपस्थिति) बाहेक अन्य कुनै प्रमाणको आवश्यकता पर्दछ ? वा पर्दैन ।

त्यस्तै आत्मसाक्षात्कार प्राप्त पुरुषलाई आत्मदर्शनको लागि कुनै देश, कालको अपेक्षा अन्य कुनै नियमको आवश्यकता पदैन । किनकि वस्तुको उपयुक्त प्रमाण ब्रह्मको उपस्थिति नै प्रर्याप्त हुन्छ ।

अयमात्मा नित्यसिद्धः प्रमाणे सति भासते ।
न देशं नापि वा कालं न शुद्धिं वाप्यपेक्षते ।।५३२।।
यो आत्मा नित्य सिद्ध हो । उपयुक्त प्रमाण जुट्ने वित्तिकै उ स्वयं भासित् हुन्छ । यसको प्रतीतिमा देश, काल तथा शुद्धि आदि कुनै कुराको अपेक्षा रहँदैन । ।।५३२।।

जगत्को अधिष्ठान आत्मा नित्यसिद्ध वस्तु हो । जो वस्तु नित्य सिद्ध छ, उसलाई प्रमाणित गर्न अन्य कुनै पदार्थका आवश्यकता पर्दैन । अज्ञानको कारण मनुष्यहरूले नित्य सत्ता आत्माको अनुभूति गर्न सक्दैनन् । जब अज्ञान नष्ट भई चित्त शुद्ध हुन्छ । जब शुद्ध चित्तरूपी उपयुक्त प्रमाण जुट्दछ त्यो अवस्थामा जगत्् विलय भई आत्मा स्वयं भाषित हुन्छ । स्वप्रस्फूटित हुन्छ । स्वः अनुभवित हुन्छ ।

यसैले आत्माको प्रतिति वा आत्मदर्शनको लागि देश, काल शुद्धि आदि वहिरंग साधनको अपेक्षा वा आवश्यकता पर्दैन । वा देश, काल, शरीर शुद्धि आदिको कारण आत्मा स्वयं भासित हुन सक्दैन ।

देवदत्तोऽहमित्येतद्विज्ञानं निरपेक्षकम् ।
तद्वद् ब्रह्मविदोऽप्यस्य ब्रह्माहमिति वेदनम् ।।५३३।।
‘म देवदत्त हुँ’, भन्दा निश्चित ज्ञान हुन्छ । त्यस्तो ज्ञानमा कुनै नियमको अपेक्षा रहँदैन । त्यस्तै प्रकार ब्रह्मवेत्तालाई म ब्रह्म हुँ भन्ने ज्ञान स्वतः हुन्छ । ।।५३३।।

मानौ कुनै व्यक्तिको नाम ‘देवदत्त’ छ । उसलाई म देवदत्त हुँ भन्ने थाहा छ । त्यसैले उसलाई म ‘देवदत्त’ हुँ भन्ने अनुभूति स्वत हुन्छ । उ स्वयंलाई देवदत्तको रूपमा प्रमाणित गर्न अन्य कसैको कुनै वस्तुको आवश्यकता रहँदैन ।
यस्तै मोक्ष प्राप्त गरी ‘म ब्रह्म हुँ’ भनि दृढ अनुभूति प्राप्त भएका महात्मालाई उ स्वयंलाई जान्न वा बुझ्न अरू कुनै साधनको आवश्यकता पर्दैन । देश, काल आदिको अपेक्षा रहँदैन ।

भानुनेव जगत्सर्वं भासते यस्य तेजसा ।
अनात्मकमसत्तुच्छं किं नु तस्यावभासकम् ।।५३४।।
जसरी सूर्यबाट सम्पूर्ण जगत् प्रकाशित हुन्छ । त्यस्तै प्रकार जसको तेज वा प्रकाशबाट असत्, तुच्छ, अनान्म पदार्थ र सम्पूर्ण जगत् भासित छ । उसलाई भासित गर्ने अन्य के हुन सक्दछ र ?।।५३४।।

जब विहानीमा सूर्योदय हुन्छ । सम्पूर्ण जगत् सूर्यको प्रकाशबाट प्रकाशित हुन्छ । सूर्य तेजले सम्पूर्ण जगत्लाई प्रकाशमय बनाइदिन्छ ।

यसैगरी ब्रह्म जसको प्रकाशबाट असत्, अनात्म पदार्थ र सम्पूर्ण जगत् भासित छ । वा जसको प्रकाशलाई ग्रहण गरेर यो जगत् भासित् छ त्यस्तो सम्पूर्ण ब्रह्माण्ड जगत् आदिलाई प्रकाशित गर्ने स्वप्रकाश ब्रह्मलाई भासित् गर्ने अन्य केही हुन सक्दछ र ? सक्दैन ।

वेदशास्त्रपुराणानि भूतानि सकलान्यपि ।
येनार्थवन्ति तं किं नु विज्ञातारं प्रकाशयेत् ।।५३५।।
वेद, शास्त्र, पुराण, सम्पूर्ण भूत मात्र जसबाट अर्थवान् हुन्छन् । त्यो सर्वसाक्षी परमात्मालाई अरू कसले प्रकाशित गर्न सक्दछ ?।।५३५।।

ब्रह्माको शक्तिका कारण मनुष्य लगायतका सम्पूर्ण जीव वा जीवित वस्तुहरूले चेतना प्राप्त गर्दछन् । यही चेतनतत्वको कारण मनुष्यले कर्म गर्ने, सोच्ने, विचार गर्ने आदि शक्ति प्राप्त गर्दछन् । वेद, शास्त्र, पुराण आदि सम्पूर्ण यही आत्माको चेतन शक्तिको कारण सिर्जना भएका हुन् लेखिएका हुन् ।

आत्माको चेतनशक्तिको अभावमा वेद, पुराणादी ग्रन्थहरूको अध्ययन, मनन, चिन्तन असम्भव हुने भएकोले यी ग्रन्थहरू अर्थहीन हुन पुग्दछन् । चेतनशक्तिको विकास नभएका पशुहरूको लागि यी वेद आदि ग्रन्थहरूको के अर्थ रहन्छ ?यसरी सम्पूर्ण जगत्लाई प्रकाशवान अनि जीवलाई चेतना दिएर अर्थपूर्ण वनाउनेसर्वसाक्षी परमात्मालाई अरू कसले प्रकाशित अर्थपूर्ण बन(ाउन सक्दछ र ?

एष स्वयंज्योतिरनन्तशक्तिरात्माप्रमेयस्सकलानुभूतिः ।
यमेव विज्ञाय विमुक्तबन्धो जयत्ययं ब्रह्मविदुत्तमोत्तमः ।।५३६।।
यो आत्मा स्वयं प्रकाश,अनन्तशक्ति, अप्रमेय, र सर्वानुभवस्वरूप छ । जसलाई जानेपछि बन्धनबाट मुक्त भएको त्यो ब्रह्मवेत्ता सर्वोकृष्ट रूपमा हुन्छ । ।।५३६।।

यो आत्मा चेतन स्वरूप भएको कारण स्वयंप्रकाश, ब्रह्माण्डको अनुष्ठान भएकोले अनन्त शक्ति, प्रमाणहरूद्वारा अगम्य भएकोले अप्रमेय, र सम्पूर्णको आत्मा भएको कारण सर्व अनुभवरूप छ । यस्तो आत्मालाई अनुभूति गरेर बन्धनबाट मुक्त भएको त्यो ब्रह्मवेत्ता जगत्का सम्पूर्ण वासनाले स्पर्शसम्म गर्न नसक्ने सर्वोत्कृष्ट स्थानमा महासम्राट झैं विराजमान हुन्छन् ।

न खिद्यते नो विषयैः प्रमोदते न सज्जते नापि विरज्यते च ।
स्वस्मिन् सदा क्रीडति नन्दति स्वयं निरन्तरानन्दरसेन तृप्तः ।।५३७।।
स्वयं निरन्तर आनन्दरसले तृप्त भएको ब्रह्मवेत्ता विषयबाट न दुःखी हुन्छ न त आनन्दित नै हुन्छ । न ती विषयमा असक्त हुन्छ न विरक्त हुन्छ । उ केवल स्वयंमा सँधैं क्रिडा गर्दछ र आनन्दित रहन्छ । ।।५३७।।

दुःख, सुख, आनन्द आदि मनका अवस्थाहरू हुन्, जुन अज्ञानको कारण सिर्जित हुन्छ तर आत्मज्ञान प्राप्त गरी सम्पूर्ण द्वैत सत्ता समाप्त गरेर ब्रह्मआनन्दको अनुभूतिमा तृप्त भइरहेको ब्रह्मवेत्तामा विषयमा दुःख, सुख आदि अवस्था प्राप्त गर्ने भन्ने प्रश्न नै उठ्दैन । उ त ब्रह्मको नित्य आनन्दरस पिई स्वयंमा क्रिडा गर्दे आनन्दित रहन्छ ।

क्षुधां देहव्यथां त्यक्त्वा बालः क्रीडति वस्तुनि ।
तथैव विद्वान्् रमते निर्ममो निरहं सुखी ।।५३८।।
जसरी खेलौना पाउँदा बालक भोक र शारीरिक व्यथालाई भुलेर खेलौनातिर लाग्दछ । त्यसैगरी ममता र अहंकार रहित विद्वान् आत्मामा आनन्दपूर्वक रमण गर्दछ । ।।५३८।।

जसरी खेलौना पाउँदा वालक भोक, प्यास शारीरिक अवस्थाहरूलाई विर्सिएर एकाग्र भई खेलौनाहरू सँग खेल्दछ । त्यस्तै मनका सम्पर्ण वासनाहरू नष्टभई कर्ता, भोक्ता भावरूपी अहंकार नष्ट भएको ज्ञानी विद्वान् स्व–स्वरूपको परम शान्तिपूर्ण आनन्दमा नित्य सुखपूर्वक बाँच्दछ, रमाउँदछ ।

चिन्ताशून्यमदैन्यभैक्षमशनं पानं सरिद्वारिषु
स्वातन्त्र्येण निरङ्कुशा स्थितिरभीर्निद्रा श्मशाने वने ।
वस्त्रं क्षालनशोषणादिरहितं दिग्वास्तु शय्यामही
सञ्चारो निगमान्तवीथिषु विदां क्रीडा परे ब्रह्मणि ।।५३९।।
ब्रह्मावेत्ता विद्वान्का लागि चिन्ता र दीनतारहित भिक्षान्न भोजन हुन्छ । नदीको पानी पेय पदार्थ बन्दछ । उसको स्थिति स्वतन्त्र भएकोले उ निरंकुश (मनोमानी) हुन्छ । उ वन वा श्मशानमा भयरहित भएर सुत्दछ । धुनी सुकाउनी आदि इच्छारहित अवस्था वा नग्न,अर्धनग्न वा रूखको बोक्रा, झारपात नै वस्त्र हुन्छ । पृथ्वी नै शैया हुन्छ । उसको सञ्चार वा आवागमन वेदान्तरूपी मार्गमा नै हुन्छ र उ सधैं परब्रह्ममा क्रिडा गर्दछ । ।।५३९।।

जगत्सँग मनको सम्बन्ध पूर्णरूपमा नष्ट भएर ब्रह्मभावमा स्थित ब्रह्मवेत्ताको दिन चर्या, स्वभाव, आचरण सांसरीक मनुष्यहरू झैं औपचारिक नहुन सक्दछ । जीवनका औपचारिक नियममा यी महापुरुषहरू नवाँधिन सक्छन् । ब्रह्मवेत्ताहरू भिक्षाद्वारा नै शरीरको क्षुधालाई मेटाउँछन् । तर भोजनको स्वादप्रति त के शरीरप्रति नै सम्पूर्ण मोह मेटिएकोले तिनीहरू भोजनको लागि चिन्ता अनि भीक्षा प्राप्त गर्न दीनता प्रकट गर्दैनन् । कसैको प्रेमले प्राप्त भीक्षामा जे प्राप्त हुन्छ त्यही ग्रहण गर्दछन् । भीक्षा प्राप्त नभए पवित्र नदीको जल पिएर पनि तृत्प हुन्छन् ।

मनका सम्पूर्ण बन्धनहरू नष्टभई स्वतन्त्र ब्रह्मभावमा स्थित भएकोले तिनीहरूको व्यवहार अनौपचारिक (निरकुंश) मनोमानी पूर्ण देखिन सक्दछ । जगत्का मानिसहरूको जस्तो औपचारिक व्यवहार जस्तै प्रणाम, धन्यवाद, कृतज्ञता आदि तिनीहरू प्रकट नगर्न सक्छन् । चिन्ता, भय आदि पनि मनका भावहरू हुन् । मन नै विलय भएकोले वा शरीरप्रति मोह नै नष्ट भएकोले यिनीहरू पहाड, पर्वत, हिमाल, वन, नदि किनारा, श्मशान आदि स्थानमा जहाँ तहीँ भयरहित भएर सुत्दछन् ।

श्रृङ्गार, सुन्दरवस्त्र मनका वासनाहरू हुन् । सधैं ब्रह्मभावको सत्तामा स्थित यी मुक्त पुरुषहरूमा वस्त्र धुनि, सुकाउनी आदि ईच्छा पनि नहुने हुनाले वा सँधैं ब्रह्मभावमा लिन हुने हुनाले यिनीहरू कोही नाङ्गै (महावीरको जीवनीलाइ स्मरण गर्नुहोस्) अर्धनग्न, कोही रूखका बोक्रा, कोही वृक्षका पात आदि ग्रहण गर्दछन् । यिनीहरू स्वेच्छापूर्वक जमीनमा नै सुत्दछन् । नित्य अद्वैत सत्तामा स्थित रहने हुनाले यिनीहरूको आवगमन वेदान्त कै मार्गमा हुन्छ वा यिनीहरूको जीवन वेदान्त मार्ग (अद्वैत वा ब्रह्ममय स्थिति) अनुरूप नै हुन्छ । यिनीहरू सधैं परब्रह्ममा नै क्रिडा गर्दछन् वा रमाउँदछन् ।
स्मरण रहोस्, इतिहासका मोक्ष पुरुषहरूको जीवन आचरण सांसारिक मुनष्य झैं पृथक् पृथक् छ । उदाहरणको रूपमा रमणमहर्षि, रामकृष्ण परमहंश आदिको जीवनीलाई लिन सकिन्छ । मुख्य प्रश्न आचरणको होइन । मुख्य प्रश्न उ अद्वैत सत्तामा स्थित छ कि द्वैत सत्तामा स्थित छ नै हो ।

विमानमालम्ब्य शरीरमेतद् भुनक्त्यशेषान् विषयानुपस्थितान् ।
परेच्छया बालवदात्मवेत्ता योऽव्यक्तलि·ोऽननुषक्तबाह्यः ।।५४०।।

जो प्रत्यक्ष (बाह्य) चिन्हबाट रहित र विषयमा अनासक्त छ । त्यो ब्रह्मवेत्ता यो शरीररूपी विमानमा बसेर अर्थात सर्वअभिमान शुन्य शरीरको आश्रय लिएर अरूबाट दिइएका विषयहरूलाई बालकले जस्तै भोग गर्दछन् । ।।५४०।।
बाह्य वा शरीर प्रत्यक्ष चिन्ह हेरेर ज्ञानी अज्ञानी पुरुषको भेद छुट्याउन सकिँदैन । विषयमा पूर्ण अनाशक्त, नित्य व्रह्मभावमा स्थित ब्रह्मवेत्ताहरू यही शरीरमा आश्रय लिई साधारण मनुष्य झैं भोजन आदि विषयलाई ग्रहण गर्दछ ।
ब्रह्मवेत्ताहरूमा मनको वासना विलय भएकोले तिनीहरूमा कर्ता, भोक्ता अभिमान सून्य भएकोले तिनीहरू विषयप्रति स्वतः प्रवृत्त हुँदैनन् । जसरी बालकले आमाले दिएको जुनसुकै भोजन, वस्त्र आदिलाई विना अपेक्षा ग्रहण गरेझैं, प्रारब्धअनुसार जुन विषय (भोजन, वस्त्र, आदि) मिल्दछ, त्यही ग्रहण गर्दछन् ।

दिगम्बरो वापि च साम्बरो वा त्वगम्बरो वापि चिदम्बरस्थः ।
उन्मत्तवद्वापि च बालवद्वा पिशाचवद्वापि चरत्यवन्याम् ।।५४१।।
ज्ञानरूपी वस्त्र धारणा गरेर उन्मत (स्वतन्त्र) ब्रह्मवेत्ता पुरुष कहिले वस्त्रहीनविहीन, कहिले वस्त्रयुक्त, कहिले वृक्षको बोक्रा आदि धारणा गरेर बालक वा पिचाससमान पृथ्वीमा वीचरण गर्दछ । ।।५४१।।

जगत्का विषयहरूसँग सम्बन्ध नरहेका ब्रह्मवेत्ता पुरुष शरीरप्रति मोह नभएको कारण कहिले वस्त्र धारण, कहिले नग्न वा वस्त्रहीनविहीन, कहिले वृक्षका बोक्राहरू धारण गरेर मनका सम्पूर्ण बन्धनबाट मुक्त निर्दोष बालक झैं पृथ्वीमा विचरण गर्दछ । सारांशंमा ज्ञान प्राप्त पुरुष मोह नष्ट भइसकेकोले उ शरीर, वस्त्र आदिका स्थितिप्रति वेवास्तापूर्ण रहन्छ ।

कामान्निष्कामरूपी सञ्चरत्येकचरो मुनिः ।
स्वात्मनैव सदा तुष्टः स्वयं सर्वात्मना स्थितः ।।५४२।।
स्वयं सर्वात्मभावमा स्थित स्वआत्मामा नै सन्तुष्ट, एक्लै घुम्ने मुनि विषयवासनारहित भएर सँधै विचरण गर्दछन् । ।।५४२।।

आत्मज्ञान प्राप्त गरेर सर्वआत्मभाव वा सम्पूर्ण जगत् नै आत्मा ब्रह्म देख्ने पुरुष, स्वआत्माको अविरल ब्रह्मरसमा तृप्त हुँदै पृथ्वीमा एक्लै स्वतन्त्रपूर्वक विचरण गर्दै, नित्य ब्रह्मभाव (वा विषय वासनारहित) भएर पृथ्वीमा बा(ँच्दछन् ।

क्वचिन्मूढो विद्वान्क्वचिदपि महाराजविभवः
क्वचिद्भ्रान्तः सौम्यः क्वचिदजगराचारकलितः ।
क्वचित्पात्रीभूतः क्वचिदवमतः क्वाप्यविदितः
चरत्येवं प्राज्ञः सततपरमानन्दसुखितः ।।५४३।।
ब्रह्मवेत्ता कहिले मुढी, कहिले विद्वान्, कहिले राजामहाराजा जस्तो वैभव युक्त, कहिले भ्रान्त कहिले शान्त, कहिले अजि·र झैं निश्चल भावले लडिरहने, कहिले सम्मानित, कहिले तिरस्कृत, कहिले अज्ञात रहन्छन् । यसप्रकार सतत परमानन्दयुक्तरही सुखपूर्वक विचरण गर्दछन् । ।।५४३।।

मोक्ष प्राप्त ब्रह्मवेत्ताहरू नित्य ब्रह्ममा विचरण गर्ने हुनाले तिनीहरूको आचरणस्वभाव समाजका सम्पूर्ण प्रतिवन्धहरूबाट स्वतन्त्र रहन्छन् । अहंकारशुन्य तिनीहरूको व्यवहार असामान्य झैं प्रतीत हुन सक्दछ ।
श्री श्रीमद्भागवत् मा दत्तात्रेय र प्रल्हाद बीचको संवाद यो श्लोकले यो स्थितीलाई अझ स्पष्टसँग बुझ्न मद्दत गर्न सक्दछ ।

दत्तात्रेय भक्तराज प्रल्हादलाई भन्नुहुन्छ, : “म अजिङ्गर झैं निश्चष्ट लड्दछु । दैववस जे भोजन मिल्यो त्यसैमा सन्तुष्ट रहन्छु । यदी केही मिलेन भने धेरै दिसम्म धैर्यधारण गर्दछु । कहिँ थोरै अन्न ग्रहण गर्दछु । कहिले धेरै, कहिले स्वादिष्ट, त कहिले रसहीन, कहिले अनेक स्वादले युक्त कहिले सर्वथा स्वादहीन, कहिले श्रद्धा वा प्रेमले प्राप्त अन्न ग्रहण गर्दछु, त कहिले अपमा(नबाट प्राप्त । मलाई रेशमी, सुती, मृगछाला, वृक्षबोक्रा जस्तो वस्त्र मिल्दछ त्यही लगाउँदछु । म कहिले पृथ्वी, कहिले घाँस, कहिले पत्थर, चट्टानमा लड्दछु । कहिले दोस्रो व्यक्तिको इच्छाको कारण महलको पलंग र गद्धीमा पनि सुत्दछु । कहिले आभूषण धारणा गरेर रथ, हात्ती, घोडा चढ्दछु । त कहिले पिचाश जस्तै विचरण गर्दछु …. ।”

निर्धनोऽपि सदा तुष्टोऽप्यसहायो महाबलः ।
नित्यतृप्तोऽप्यभुञ्जानोऽप्यसमः समदर्शनः ।।५४४।।
ब्रह्मावेत्ता निर्धन भएर पनि सधैं सन्तुष्ट, असहाय भएर पनि महावलवान, विषयको भोग नगरे पनि नित्य तृप्त, र असमान रूपबाट व्यवहार गरेपनि समदर्शी हुन्छन् । ।।५४४।।

सामान्य मनुष्य धन प्राप्तिको लागि प्रयास गर्दछन् र अप्राप्तिमा असन्तुष्ट रहन्छन् । तर धन, सम्मान, विषय भोग आदि वासनालाई विषसमान, अर्थहीन ठानी, आत्मज्ञान प्राप्त गरी ब्रह्मसँग सम्बन्ध भएका अपरीग्रही ब्रह्मवेत्ताहरू लौकिक रूपमा त निर्धन नै हुन्छ । तर धन आदि अनित्य वस्तुलाई अर्थहीन ठानेर, लत्याएर आत्मसुखरूपी धन प्राप्त गरेका ब्रह्मज्ञानीहरू निर्धन भएपनि सँधैं धनी, सन्तुष्ट हुन्छन् । धन ब्रह्मवेत्ताहरूको लक्ष्य होइन । ब्रह्मवेत्ताहरू व्यापारी होइनन् । मोक्षको मार्ग धनसंग्रह होइन ।

ब्रह्मवेत्ताहरू प्रायशः दुब्ला, पातला, एक्लो, असहाय देखिन्छन् तर मनसहित मनका डर, भय, मोह आदि भावहरू नष्ट भएकोले अनि दृढ आत्मवलबाट जगत्को राज वा आकर्षणलाई जितेकोले तिनीहरू दृढ संकल्पवान अनि जगत्का वासनाहरूले स्पर्शसम्म गर्न नसक्ने महावलवान आत्मा भएको हुन्छ । सांसारिक मानिस झैं निर्वल भएर तिनीहरू जगत्का वासनाहरूसँग झुक्दैनन् । मनलाई जित्ने पुरुषभन्दा महावलवान को हुन्छ ? ब्रह्मरसमा तृप्त रहेकोले नित्यतृप्त र लौकिक रूपमा जगत्मा गर्ने व्यवहार अनौपचारिक, अनौठो अनि कसैको निद्रा स्तुति आदि नगर्ने निष्पक्ष प्रवृत्तिको समदर्शी हुन्छन् ।

अपि कुर्वन्नकुर्वाणश्चाभोक्ता फलभोग्यपि ।
शरीर्यप्यशरीर्येष परिच्छिन्नोऽपि सर्वगः ।।५४५।।
यी ब्रह्मावेत्ता सम्पूर्ण कर्म गरेपनि अकर्ता हुन । फलभोक्ता भएपनि अभोक्ता हुन । शरीरधारी भएपनि अशरीर हुन । परिच्छिन्न (सीमित) भएर पनि सर्वव्यापी हुन् । ।।५४५।।

अज्ञानमा अहंकार कर्मको कारण हुन्छ । अज्ञानी मनुष्य अहंकारको कर्ता, भोक्तारूपी भाव लिएर वासनातृप्ति वा फलको आशामा मात्र सकाम कर्म गर्ने हुनाले तिनीहरू कर्ता मानिन्छ । तिनीहरू शुभ–अशुभ कर्मको कर्मफल पनि प्राप्त गर्दछन् ।

तर कर्ता, भोक्तारूपी भावनष्ट भएका ब्रह्मवेत्ताहरूद्वारा गरिने कर्महरू अहंकार र वासना प्रेरित नभएकोले कर्मप्रति तिनीहरूको दृष्टिकोण निष्काम (फलको अपेक्षारहितको कर्म) भएकोले काम गरेपनि तिनीहरू अकर्ता हुन्छ । अहंकाररहित निष्काम कर्महरू कर्मफल सिर्जना गर्न असमर्थ छन् । यसैकारण मोक्ष प्राप्त महापुरुषहरू कर्मका फलहरू भोग्दैनन् । वा कर्मफलका अभोक्ता हुन् ।

शरीरमा स्थित देखिएपनि देह, इन्द्रिय, मन आदि सम्पूर्णलाई मात्र ब्रह्म देख्ने वा मान्ने भएकोले वा शरीरसँगको तादाम्य सम्बन्ध नष्ट भएकोले ब्रह्मवेत्ताहरू शरीररूपी भएपनि अशरीर हुन् । देहरूपमा परिछिन्न (सीमित) देखिएपनि देहमुक्त ब्रह्मभावमा स्थित भएकोले तिनीहरू सर्वव्यापी छन् ।

अशरीरं सदा सन्तमिमं ब्रह्मविदं क्वचित् ।
प्रियाप्रिये न स्पृशतः तथैव च शुभाशुभे ।।५४६।।
शरीरसँग सँधै असम्वद्ध रहनाको कारण यो ब्रह्मवेत्तालाई कहिल्यै प्रिय अप्रिय तथा शुभ अशुभ कुराहरूले स्पर्श गर्दैन । ।।५४६।।

मन जगत्सँगको सम्बन्धको कारण नै मनुष्यलाई प्रिय, अप्रिय, शुभ, अशुभ, दुःख, सुख आदि भावहरू उठ्दछन् । तर जो ब्रह्मवेत्ता म ब्रह्म हुँ भन्ने स्थिति प्राप्त गरी, शरीर, मन, इन्द्रिय आदिसँग सम्बन्ध नष्ट गरि ब्रह्मभावमा स्थित छ । त्यो ब्रह्मज्ञानीलाई सुख, दुःख, शुभ, अशुभ, प्रिय, अप्रिय आदि मनको भावहरूले स्पर्श गर्दैन ।

स्थूलादिसम्बन्धवतोऽभिमानिनः सुखं च दुःखं च शुभाशुभे च ।
विध्वस्तबन्धस्य सदात्मनो मुनेः कुतः शुभं वाप्यशुभं फलं वा ।।५४७।।

जुन देहभीमानीको स्थूल, सूक्ष्म आदि देहसँग सम्बन्ध छ । उसैलाई सुख अथवा दुःख, शुभ अथवा अशुभ प्राप्त हुन्छ । तर जसको बन्धन नष्ट भएको छ । यस्ता सत्स्वरूप मुनिलाई शुभ वा अशुभ फल कसरी हुन सक्दछ ? ।।५४७।।
पूर्व श्लोकलाई अझ स्पष्ट पार्दै यो श्लोकमा भनिएको छ की अज्ञानी देहभिमानी पुरुष जसको स्थूल र सूक्ष्म शरीर वा देह, इन्द्रिय, मन, बुद्धि, प्राण आदिसँग सम्बन्ध छ । त्यही सम्बन्धको कारण नै उसलाई दुःख सुख, शुभ, अशुभभाव प्राप्त हुन्छ ।

तर ब्रह्मज्ञान प्राप्त गरिसकेको ब्रह्मवेत्ता जसको मनका सम्पूर्ण वासनाहरू नष्ट भएकोले जगत्सँगको सम्बन्ध समाप्त भएको छ । जसलाई जगत्बाट कुनै लाभ, शुभ आदिको अपेक्षा छैन । जो दृढ ब्रह्मभावमा स्थित छ , यस्ता सत्स्वरूप मुनिलाई शुभ अशुभ फल कसरी प्राप्त हुन सक्छ ? सक्दैन ।

तमसा ग्रस्तवद्भानादग्रस्तोऽपि रविर्जनैः ।
ग्रस्त इत्युच्यते भ्रान्त्या ह्यज्ञात्वा वस्तुलक्षणम् ।।५४८।।
तद्वद्देहादिबन्धेभ्यो विमुक्तं ब्रह्मवित्तमम् ।
पश्यन्ति देहिवन्मूढाः शरीराभासदर्शनात् ।।५४९।।

वस्तुतः सूर्य, राहुबाट ग्रसित नभएपनि ग्रसित भएझैं प्रतीति हुन्छ । यसैले वस्तुको यथार्थ लक्षण थाहा नहुनुको कारण, भ्रान्तिवस् मनुष्य सूर्य राहुबाट ग्रसित भएको मान्दछन् । यसैगरी देह आदिबाट मुक्त ब्रह्मवेत्तलाई मुढ मनुष्यहरू शरीरमा भएको कारण साधारण देह धारि (मनुष्य) झैं देख्दछन् वा मान्दछन् । ।।५४८,५४९।।

परिक्रमा गर्ने क्रममा जब चन्द्रमा पृथ्वी र सूर्यको वीचमा आइपुग्छ । सूर्यमा चन्द्रमाको छायाँ वा सूर्यग्रहण पर्दछ । सूर्यग्रहणको कुनै जानकारी नभएका अल्पवृद्धि मनुष्यहरू भ्रन्तिवस् सूर्य ‘राहु’बाट ग्रसित भयो भनेर भन्दछन् वा मिथ्यापूर्ण कुरा गर्दछन् ।

त्यस्तै ब्रह्मवेत्ता वा मोक्षपुरुष भन्नुको अर्थ ‘मन’ पूर्णरूपमा विलय भएर स्वयंको स्वरूपको बारेमा जानकारी प्राप्त गरेको पुरुष हो । यो पूर्णरूपमा मनको अवस्था हो ।

स्थूलदेहसँग यसको कुनै सम्बन्ध छैन । मोक्ष पुरुषको देह नष्ट हुने नभई अहंकाररूपी देहभीमान नष्ट हुने हो । पुरुषले मोक्ष प्राप्त गरेपनि शरीर मृत्यु प्राप्त नभएसम्म रहिरहन्छ ।

तर अल्पबुद्धि मनुष्यहरूले ब्रह्मवेत्ताको विशुद्ध मन, वा पूर्ण ब्रह्मभाव अनुभूतिलाई प्रत्यक्ष आँखाले देख्न सक्दैन । तिनीहरू जब मोक्ष पुरुषलाई देख्दछन् । शरीर प्रत्यक्ष देखिएको कारण ती मुढ मनुष्य ब्रह्मवेत्तालाई पनि देहधारी सांसारीक साधारण मनुष्य झैं ठान्दछन् ।

अहिनिल्र्वयनीवायं मुक्तदेहस्तु तिष्ठति ।
इतस्ततश्चाल्यमानो यत्किञ्चित् प्राणवायुना ।।५५०।।

सर्पको काँचुली समान देहभीमानरहित ब्रह्मावेत्ता प्राणवायुद्वारा केही यताउता चलाएमान हुन्छन् । ।।५५०।।
जसरी सर्पले काँचुलीलाई पूर्णरूप त्यागिदिन्छ । त्यागीसकेको काँचुलीसँग कुनै प्रकारको सम्बन्ध राख्दैन । त्यस्तै मन, इन्द्रिय, देह आदिसँग सम्पूर्ण सम्बन्ध नष्टगरि देहभीमान नष्ट भएका ब्रह्मवेत्ता सधैं चेष्टारहित हुन्छ । यदि उसको देह यताउता चलायमान हुन्छ भने कुनै विषयप्रति प्रवृत्त भएको कारण नभई मात्र प्राणवायु वा प्रारब्धको कारणले हुन्छ ।

स्रोतसा नीयते दारु यथा निम्नोन्नतस्थलम् ।
दैवेन नीयते देहो यथाकालोपभुक्तिषु ।।५५१।।
जसरी जलको प्रवाहले काठलाई उँचो निचो (तल माथि) स्थानमा बगाउँदछ । यसैप्रकार प्रारब्धले ज्ञानीको शरीरलाई समयानुकूल भोगमा लैजान्छ । ।।५५१।।

जसरी जलको प्रवाहमा खसेको काठलाई जलको प्रवाहले तलमाथि गर्दे बगाउँदछ । त्यस्तै वासना नष्ट भएका ज्ञानीहरू स्व–इच्छाले विषय भोगहरूमा प्रवृत्त हुँदैनन् । प्रारब्ध कर्मले ज्ञानीको शरीरलाई समयानुकूल भोगमा लैजान्छ । प्रारब्धको कारण कुनै वस्तुको भोग गरेपनि ब्रह्मभावमा स्थित यी ज्ञानीहरू अभिमानरहित भएको कारण अकर्ता वा अभोक्ताको स्थितिमा रहन्छन् ।

प्रारब्धकर्मपरिकल्पितवासनाभिः
संसारिवच्चरति भुक्तिषु मुक्तदेहः ।
सिद्धः स्वयं वसति साक्षिवदत्र तूष्णीं
चक्रस्य मूलमिव कल्पविकल्पशून्यः ।।५५२।।

ज्ञानीको शरीर पनि प्रारब्ध कर्मद्वारा कल्पित वासनाले गर्दा संसारी पुरुष समान नाना भोगहरूलाई भोग गर्दछ । तर संकल्प विकल्परहित सिद्ध पुरुषस्वयं कूलालचक्र (कुमालेको चक्र) को मूल (धुरी) समान यो शरीरमा साक्षीको समान मौन भएर स्थित हुन्छन् । ।।५५२।।

स्वयंको निहित वासनाको कारण नभई प्रारब्ध कर्मद्वारा सिर्जित कर्मफलको कारणले गर्दा ब्रह्मवेत्ता ज्ञानी नाना प्रकारका भोगहरू ग्रहण गर्दछन् । तर विषय भोगलाई कर्तव्यभाव वा अहंकारको कारण ग्रहण नगरेकोले भोगग्रहणको समयमा पनि यी ज्ञानीहरू अभोक्ता वा साक्षीका रूपमा स्थित रहन्छन् ।

यस विषयमा उदाहरण दिँदै भनिएको छ कि जसरी कुमालेले चक्रमा माटाका भाँडाहरू बनाउँदा, चक्र वारम्वार घुम्दछ । यसैप्रकार ज्ञानी पनि सम्पूर्ण प्रारब्ध जनित भोगलाई ग्रहण गर्द स्वयंको नित्य, शुद्ध, मुक्त, साक्षीभावमा नै स्थिर रहन्छन् ।

नैवेन्द्रियाणि विषयेषु नियुङ्क्त एष नैवापयुङ्क्त उपदर्शनलक्षणस्थः ।
नैव क्रियाफलमपीषदवेक्षते स स्वानन्दसान्द्ररसपानसम्ुात्तचित्तः ।।५५३।।
साक्षीरूपमा स्थित ब्रह्मावेत्ता विषयमा इन्द्रियलाई न त लगाउँदछन् । न त विषयबाट हटाउँछन् । अत्यन्त सघन आत्मनन्(दको रस पिएर मदमत (मस्त) भएका ज्ञानी अलिकति पनि कर्मफलतिर हेर्दैन । ।।५५३।।

आत्माज्ञानी साक्षीरूपमा स्थित पुरुषहरू जो जगत्मा मात्र ब्रह्म देख्दछन् । मनमा जगत् कल्पनासून्य यी महापुरुषहरू तुच्छ, क्षणिक, विषयसुखमा इन्द्रियलाई लगाउने, हटाउने जस्ता वासनामय कर्म कसरी गर्न सक्छन् ? सक्दैनन् ।
सधन आत्मानन्दको रस पिएर पूर्णतृप्त यिनीहरू कुनै वासनाकर्मतर्फ कर्मको फलतर्फ दृष्टिसम्म दिँदैनन् । वासनाकर्म कर्मफलतिर दृष्टि साधारण अज्ञानी मुनष्यको मात्र रहन्छ ।

लक्ष्यालक्ष्यगतिं त्यक्त्वा यः तिष्ठेत् केवलात्मना ।
शिव एव स्वयं साक्षादयं ब्रह्मविदुत्तमः ।।५५४।।

जो लक्ष्य अलक्ष्य त्यागेर केवल आत्मरूपमा स्थित रहन्छ । त्यो ब्रह्मवेत्तामा श्रेष्ठ साक्षात शिव हो । ।।५५४।।
यो जगत्मा ब्रह्मको अतिरिक्त अन्य केही नदेख्ने ब्रह्मवेत्ता लक्ष्य, अलक्ष्यको गतिबाट मुक्त केबल पूर्ण आत्मरूपमा स्थित मुक्त पुरुष ब्रह्मवेत्ताहरूमा श्रेष्ठ साक्षात शिव नै हो ।

जीवन्नेव सदा मुक्तः कृतार्थो ब्रह्मवित्तमः ।
उपाधिनाशाद् ब्रह्मैव सन् ब्रह्माप्येति निद्र्वयम् ।।५५५।।
यस्ता ब्रह्मज्ञानी जीवित अवस्थामा सदामुक्त र कृतार्थ छन् । उपाधि नाश भएको कारण ब्रह्मभावमा स्थित भएर अद्वितीय ब्रह्म (विदेहमुक्ति) प्राप्त गर्दछन् । ।।५५५।।

ब्रह्मावेत्त पुरुषहरूमध्ये जो श्रेष्ठ छन् तिनीहरूलाई ब्रह्मविद् भनिन्छ । यी ब्रह्मविद्हरू नित्य ब्रह्मभावमा स्थित रहेकोले वा जगत्को वासनाले स्पर्श नगरेकोले जिवित अवस्थामा पनि सधैं मुक्त र कृतार्थ वा पूर्ण सन्तुष्ट रहन्छ ।

ब्रह्मा साक्षात्कारको कारण, देह, मन, बुद्धि आदि उपाधि नष्ट भई विशुद्ध चेतन स्थिति प्राप्त यी ब्रह्मविद्हरू अतिद्वीय ब्रह्म(विदेहमुक्ती) स्थिति प्राप्त गर्दछन् । यो अवस्थामा ब्रह्मको अंग (वा ब्रह्म) भएको कारण यिनीहरू ब्रह्मदर्शि बन्दछन् ।

शास्त्रमा भनिएको छ, यो स्थिति (विदेहमुक्ति) मा ध्यानमात्रबाट ब्रह्मविद्लाई सम्पूर्ण विषयको ज्ञान हुन्छ । मृत्युपछि पनि चाह्यो भने उ शरीर धारण गर्न सक्दछ । भगवान शिब यो स्थितिमा स्थित ब्रह्मविद् हुन् ।

शैलूषो वेषसद्भावाभावयोश्च यथा पुमान् ।
तथैव ब्रह्मवीच्छ्र«ेष्ठः सदा ब्रह्मैव नापरः ।।५५६।।
जसरी नर्तक विचित्र भेशभुषा पहिरिएपछि वा नपहिरिँदै पनि उ त्यही पुरुष हो । त्यस्तै प्रकार ब्रह्मज्ञानी सदा ब्रह्म नै हो । अन्य होइन । ।।५५६।।

जसरी कुनै नर्तक दर्शकको मनोरन्जनको लागि नाटकमा अनेकन भेषभुषाहरू लगाएपनि जब उ ती वस्त्रलाई उतारिदिन्छ । उ त्यही पुरुष रहन्छ । वा बाह्य वस्त्रलाई परिवर्तन गरेपनि भित्री स्वरूप परिवर्तन हुँदैन । त्यसैप्रकार ब्रह्मभावमा स्थित ब्रह्मज्ञानी शरीररूपी भेषभुषा धारणा गरेपनि वा त्याग गरेपनि उ ब्रह्म नै रहन्छ ।

यत्र क्वापि विशीर्णं सत्पर्णमिव तरोर्वपुः पतनात् ।
ब्रह्मीभूतस्य यतेः प्रागेव हि तच्चिदग्निना दग्धम् ।।५५७।।
वृक्षको सुकेको पात समान ब्रह्मीभूत यति (सन्यासी) को शरीर जहाँसुकै किन नढलोस (मृत्यु), ढल्नुपूर्व नै उ ज्ञानारूपी अग्निमा डढिसकेको हुन्छ । ।।५५७।।

जब वृक्षका पातहरू पुरानो जीर्ण भएर सुक्न थाल्दछन् । ती सुकेका पातहरू वृक्षबाट झर्न थाल्दछन् । यसरी स्वयंबाट झरिरहेका सुकेका पाताहरूसँग वृक्षको कुनै सम्बन्ध हुँदैन ।

त्यस्तै ज्ञानरूपी अग्निमा देहमोहलाई नष्ट गरिसकेका ब्रह्मीभुत सन्यासीलाई उसको शरीरले जहाँसुकै मृत्युवरण गरोस् त्यसको प्रवाह हुँदैन ।

सदात्मनि ब्रह्मणि तिष्ठतो मुनेः पूर्णाद्वयानन्दमयात्मना सदा ।
न देशकालाद्युचितप्रतीक्षा त्वङ्मांसविट्पिण्डविसर्जनाय ।।५५८।।
सधैं पूर्ण अद्वितीय आनन्दमय आत्मरूपले सत् स्वरूप ब्रह्ममा स्थित रहने मुनिलाई हाड, छाला, मासु, र मलमुत्रको पीण्ड शरीर त्याग गर्नको लागि कुनै योग्य देशकाल, आदिको अपेक्षा हुँदैन । ।।५५८।।

मोक्ष प्राप्त गरी अद्वितीय आनन्दमय ब्रह्मभावमा स्थित रहेको ज्ञानी,स्वयंलाई देह नठानी ब्रह्म ठान्दछ । यो शरीर हाड, छाला, मासु र मलमुत्रको पीण्ड बाहेक केही होइन । ती मुनिलाई यो शरीर रहोस् कि नष्ट होस् कुनै पर्वाह हुँदैन । त्यस्ता मुनीहरूलाई यो मिथ्या शरीरलाई त्याग गर्न कुनै देश स्थान (पवित्र धार्मिक स्थल), समय वा काल आदिको कुनै अपेक्षा हुँदैन ।

देहस्य मोक्षो नो मोक्षो न दण्डस्य कमण्डलोः ।
अविद्याहृदयग्रन्थिमोक्षो मोक्षो यतस्ततः ।।५५९।।
किनकि हृदयको अविद्यारूपी ग्रन्थी नासलाई नै मोक्ष भनिन्छ । देह वा दण्ड कमण्डलु त्यागको नाम मोक्ष होइन । ।५५९।।

हृदयको अविद्यारूपी ग्रन्थी वा देहबुद्धिलाई साधन चतुष्टय र निर्विकल्प समाधिद्वारा नष्ट गरि आत्मा र ब्रह्मको एकताको बोध प्राप्त गर्नु मोक्ष हो ।

यो श्लोक आदिगुरु भन्नुहुन्छ : बाह्य त्याग जस्तै देह, दण्ड, कमण्डलु, घरपरिवार, सम्पत्ति छोडेर जंगल जानु, नग्न रहनुु खरानी घस्नु आदि त्यागको नाम मोक्ष होइन । बाह्य त्यागबाट मोक्ष प्राप्त हुँदैन । मोक्ष प्राप्ति अज्ञान वा अविधालाई नष्ट गरेपछि प्राप्त हुन्छ ।

कुल्यायामथ नद्यां वा शिवक्षेत्रेऽपि चत्वरे ।
पर्णं पतति चेत्तेन तरोः किं नु शुभाशुभम् ।।५६०।।
नालीमा, नदीमा, शिवालयमा, चौतारोमा वा जहाँकहिँ वृक्षका पातहरू खसे भने पनि, त्यसले वृक्षलाई के हानी, के लाभ ?।।५६०।।

जसरी वृक्षबाट खसेको पात चाहे फोहर नालीमा खसोस्, पवित्र नदीमा खसोस् मन्दिर वा चौतारीमा जहाँ कहिँ किन नखसोस् त्यसले वृक्षलाई कुनै हानी लाभ गर्दैन वा कुनै सम्बन्ध हुँदैन ।

त्यस्तै मोक्ष प्राप्त गरेर ‘म ब्रह्म हुँ’ भन्ने पूर्ण ब्रह्मभावमा स्थित आत्मज्ञानीलाई यो मिथ्या देह पवित्र धर्मस्थलमा नष्ट होस् स्मशानघाट भीर, कन्दरा, चट्टानमा, देहमोह त्याग गरेको ज्ञानीलाई केही फरक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 790 0
मंगलाचरण 1/15/2023 765 0
मुक्तिको दुर्लभता 1/15/2023 662 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 906 0
विचारको महङ्खव 1/15/2023 633 0
शिष्य लक्षण 1/15/2023 790 0
साधन–चतुष्टय 1/15/2023 1775 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 750 0
सद्गुरु लक्षण 791 0
शिष्य प्रार्थना 1/15/2023 881 0
गुरु कर्तव्य 1/15/2023 873 0
1/15/2023 613 0
शिष्य प्रशंसा 1/15/2023 694 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 701 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 770 0
अपरोक्षानुभवको आवश्यकता 725 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1081 0
विषयविन्दा 1/15/2023 756 0
देहाशक्तिको निन्दा 1/15/2023 685 0
स्थूल शरीर निन्दा 1/15/2023 876 0
दश इन्द्रियहरू 1/15/2023 1118 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 989 0
पञ्चप्राण 1/15/2023 898 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 933 0
प्राणको धर्म 1/15/2023 590 0
अहंकार 1/15/2023 703 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 586 0
माया वर्णन 1/15/2023 1378 0
रजोगुण 1/15/2023 718 0
तमोगुण 1/15/2023 624 0
सङ्खवगुण 1/15/2023 723 0
कारण शरीर 1/15/2023 866 0
आत्मा–निरूपण 1/15/2023 694 0
अध्यास 1/15/2023 890 0
आवरण र विक्षेपशक्ति 1/15/2023 846 0
बन्ध निरूपण 1/15/2023 640 0
अन्नमय कोश 1/15/2023 720 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 659 0
विज्ञानमय कोश 1/15/2023 730 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 806 0
आनन्दमय कोश 1/15/2023 588 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 629 0
आत्मस्वरूप निरूपण 1/15/2023 691 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 563 0
जगत्को मिथ्यात्व 1/15/2023 701 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 796 0
ब्रह्मा–भावना 1/15/2023 752 0
वासना त्याग 1/15/2023 791 0
अध्यास निराकरण 1/15/2023 840 0
अहंपदार्थ निरूपण 1/15/2023 680 0
अहंकार – मुख्यवाधा 1/15/2023 600 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 614 0
प्रमाद – निन्दा 1/15/2023 724 0
अविद्याको स्थिति 1/15/2023 714 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 677 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 763 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 788 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 652 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 730 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 673 0
ध्यान विधि 1/15/2023 652 0
आत्म दृष्टि 1/15/2023 731 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 702 0
आत्म चिन्तनको उपदेश 1/15/2023 642 0
शरीर उपेक्षा 1/15/2023 627 0
आत्मज्ञानको फल 1/15/2023 714 0
जीवनमुक्तको लक्षण 1/15/2023 715 0
प्रारब्ध कर्म विचार 738 0
प्रारब्ध निराकरण 1/15/2023 695 0
नानात्व – निषेध 1/15/2023 757 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 810 0
बोधोपलब्धी 1/15/2023 678 0
शिष्यको अनुभव 1/15/2023 773 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 884 0
आत्माको अविनाशिता 1/15/2023 1161 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36034 0