मनोमय कोश

0 टिप्पणीहरू 710 आगन्तुकहरू

अन्नमय, प्राणमयपछाडि मनोमय कोशको वर्ण गरिन्छ ।

ज्ञानेन्द्रियाणि च मनश्च मनोमयः स्यात्
कोशो ममाहमिति वस्तुविकल्पहेतुः ।
संज्ञादिभेदकलनाकलितो बलीयां–
स्तत्पूर्वकोशमभिपूर्य विजृम्भते यः ।।१६९।।

ज्ञानेन्द्रिय र मन मिलेर मनोमय कोश बन्दछ । यही (मनोमय कोश) नै ‘म, मेरो’ आदि विकल्प (कल्पना) को कारण मानिन्छ । यो नाम, रूप आदि भेद विषयक कलाले विशिष्ट र वलवान छ । यो पूर्वकोशहरू (अन्नमय, प्राणमय) लाई ढाकेर फैलिएको छ । ।।१६९।।

आँखा, कान, नाक, छाला, जिब्रो यी पाँच ज्ञानेन्द्रिय हुन । कामना, संकल्प, विकल्प, श्रद्धा आदि वृत्तिले भरिएको अन्तःकरण मन हो । यही मन र पाँच ज्ञानेन्द्रिय मिलेर मनोमय कोशको निर्माण हुन्छ । पाँच ज्ञानेन्द्रियका आ–आफ्ना विषयहरू छन् । यसैले इन्द्रियहरू आफ्ना विषयप्रति आकृष्ट भइरहन्छन् । तर यो इन्द्रिय स्वयं कर्म गर्न असमर्थ छ । इन्द्रियको विषयप्रतिको आकर्षण र भोग मनको माध्यमद्वारा हुने गर्दछ ।

अविद्या मनको कारणले गर्दा मनुष्यले देहबुद्धि गरि म, मेरो आदि भाव प्रकट गर्दछ । त्यस्तै नाम, रूप आदि भेदहरू पनि मनको कारण सिर्जित हुन्छन् । यो मनोमय कोशले अन्नमय, प्राणमय कोशलाई ढाकेर यसका सम्पूर्ण क्रियाहरूलाई सञ्चालन गर्दछ । सम्पूर्ण इन्द्रियहरूको लगाम मनमा भएकोले अनि मनमार्फत नै इन्द्रियहरू सक्रिय रहने भएकोले मनलाई अत्यन्त शक्तिशाली मोक्ष
र बन्धनको कारण पनि भनिएको छ ।

पञ्चैन्द्रियैः पञ्चभिरेव होतृभिः प्रचीयमानो विषयाज्यधारया ।
जाज्बल्यमानो बहुवासनेन्धनैर्मनोमयाग्निर्दहति प्रपञ्चम् ।।१७०।।

पन्चइन्द्रिय रूप पाँच होताहरूद्वारा विषयरूपी घिउको आहुती दिएर बढाइएको तथा नानाप्रकारका धेरै वासनारूपी इन्धनबाट प्रज्जलित यो मनोमय अग्नि सम्पूर्ण दृष्य प्रपन्चलाई भष्म गर्दछ ।।।१७०।।

अघिल्लो श्लोकमा भनिएको थियो कि पाँच इन्द्रिय र मन मिलेर मनोमय कोशको निर्माण हुन्छ । यी पन्चइन्द्रियहरूले मनको माध्यमद्वारा जगत्का रागहरूसँग
सम्बन्ध राखी वासनामय कर्महरू गर्दछन् । आनन्द प्राप्तिकोे लागि पाँच इन्द्रियरूपी होता (आँखा, कान, नाक, जिब्रो, छाला) द्वारा पाँच विषयरूपी घिउ
(रूप, शब्द, गन्ध, रस, स्पर्श) चढाइएको कारण नाना प्रकारका वासनारूपी इन्धन अनि धुवाँप्रज्बलित भइरहेको यो मनोमय कोश (मन)को अग्निमा यदि विषयहरूलाई पनि हवन गरिदियो भने विषयप्रति वैराग्यभाव मनमा जाग्यो भने जगत्का दृश्य प्रपन्चलाई भष्म गरि मोक्षप्रदान गर्दछ ।

न ह्यस्त्यविद्या मनसोऽतिरिक्ता मनो ह्यविद्या भवबन्धहेतुः ।
तस्मिन्विनष्टे सकलं विनष्टं विजृम्भितेऽस्मिन्सकलं विजृम्भते ।।१७१।।

मनको अतीरिक्त अन्य कुनै अविद्या छैन किनकि अविद्याको कार्य मन नै बन्धनको कारण हो । मन लीन भएपछि सम्पूर्ण कुरा (जगत्) नष्ट हुन्छ । यो जागृत हुँदा सम्पूर्ण जगत्को वृद्धि हुन्छ । ।।१७१।।

स्व–स्वरूपको ज्ञान नहुनु अविद्या हो । मनमा रहेका अनेकन तमोगुणी, रजोगुणी विकारहरूको आवरण र विपेक्ष शक्तिले गर्दा मनुष्य स्व–स्वरूपसँग परिचित हुन नसक्दा अविद्या सिर्जना भई मन बन्धनको कारण बनिरहन्छ । जब साधनाद्वारा मनको यो अविद्यालाई नष्ट गरिन्छ । प्रकाशको उपस्थितीमा सर्परूपी डोरीको भ्रम मनबाट हटेझैं तत्क्षण शरीरप्रतिको भ्रम मेटिई त्यही क्षण मन लीन वा नष्ट हुन्छ ।

जब मन लीन हुन्छ । मनको जगत्प्रति सम्बन्ध पनि समाप्त हुन गई जगत् नष्ट हुन्छ । तर जबसम्म अविद्या उपस्थित रहन्छ, मनको जगत्प्रतिकोे आशक्ति पनि रहिरहन्छ । विषयका कारण मन जगत्तर्फ प्रवृत्त हुने हुनाले झन् झन् जगत्प्रतिको आकर्षणको विस्तार हुन्छ ।

स्वप्नेऽर्थशून्ये सृजति स्वशक्त्या भोक्त्रादिविश्वं मन एव सर्वम् ।
तथैव जाग्रत्यपि नो विशेषस्तत्सर्वमेतन्मनसो विजृम्भणम् ।।१७२।।

अर्थ शून्य सपना अवस्थामा मन आफ्नो शक्तिद्वारा भोक्ता आदि सम्पूर्ण विश्वको रचना गर्दछ । यसकारण यो सम्पूर्ण जगत् मनको विलासमात्र हो । ।।१७२।।

मनुष्यलाई जगत् जागृत अवस्थामा मात्र प्राप्त हुँदैन । अर्थसुन्य (भ्रमपूर्ण) सपना अवस्थामा पनि मन आफ्नो शक्तिद्वारा वा छिपेका वासनाहरूको शक्तिद्वारा भोक्ता, कर्ता, आदि विविध भ्रमपूर्ण सपनारूपी जगत्को सिर्जना गर्दछ । सपनाको जगत्लाई अर्थसून्य भनि सबैले अस्वीकार गर्दछन् ।

यो श्लोकमा भनिएको छ कि सपनाको अर्थसुन्य जगत् जस्तै जागृत अवस्थाको संसार पनि अर्थसुन्य नै हो । किनकि यो मात्र मनको अविद्या कारणले गर्दा सिर्जित भएको भ्रम मात्र हो । जसरी जागृत अवस्थामा सपना संसार मिथ्या भ्रम थियो भन्ने निश्चय हुन्छ । त्यस्तै आत्मज्ञान प्राप्त भएपछि जागृत संसार पनि झुठो हो भन्ने निश्चय हुन्छ ।

सुषुप्तिकाले मनसि प्रलीने नैवास्ति किञ्चित्सकलप्रसिद्धेः ।
अतो मनः कल्पित एव पुंसः संसार एतस्य न वस्तुतोऽस्ति ।।१७३।।

सुषुप्तावस्थामा (गाढा निन्द्रा) मन लीन हुन जाँदा त्यहाँ केही रहँदैन । यो (अवस्था) सबैलाई विदितै छ । यसैले यो पुरुष (मनुष्य) को संसार मनको कल्पना मात्र हो । वस्तुतः होइन । ।।१७३।।

शरीरका तीन (जाग्रत, सपना, सुषुप्ति) अवस्थामध्ये जागृत र सपना अवस्थामा मन सक्रिय रहने हुँदा मनुष्यलाई यी दुई अवस्थाको बारेमा बोध हुन जान्छ । तर सुषुप्ति (गहिरो निद्रा) अवस्थामा मन लीन हुने हुनाले उसलाई जागृत वा सपनामा जस्तो केही प्रतीत हुँदैन ।

सुषुप्ति अवस्थामा मन रहन्छ, अविद्या पनि रहन्छ । तर मन गहन निद्रासँग लयवद्ध हुन पुग्दा निस्क्रिय हुन पुग्दछ । जसको फलस्वरूप मन कुनै कल्पना, संकल्प, विकल्प प्रपन्च गर्न असमर्थ रहँदा त्यहाँ जगत् उपस्थित रहँदैन । सुषुप्ति अवस्थाबाट ब्यूँझे पछि मानिसले ओहो “म यस्तोसँग सुतेछु की केही थाहा भएन” भन्दछ ।

जन मनुष्य विउँझिन्छ मनका शक्तिहरू पुनः सक्रिय हुन थाल्दछन् । पुनःसंसारको प्रतीत बन्धन प्राप्त हुन थाल्दछ, तर जब मन लीन हुन्छ संसार बन्धन प्राप्त हुँदैन । यसैले संसार मनको कल्पना, खेल, विलास मात्र हो ।

वायुनाऽऽनीयते मेघः पुनस्तेनैव लीयते ।
मनसा कल्प्यते बन्धो मोक्षस्तेनैव कल्प्यते ।।१७४।।

जसरी वायुले बादललाई ल्याउँछ । वायुले लैजान्छ वा छिन्नभिन्न पार्दछ । त्यस्तै मनद्वारा नै बन्धनको कल्पना हुन्छ फेरि उसैद्वारा मोक्षको कल्पना पनि हुन्छ । ।।१७४।।

जसरी वर्षाकालीन वायुले वादललाई एकस्थानबाट अर्को स्थानसम्म लाने, ल्याउने छिन्नभिन्न गर्ने गर्दछ । त्यस्तै, मनको कारणले मनुष्य स्वयंलाई कर्ता, भोक्ता आदि ठानी मैले दुःख पाएको छु, म बन्धनमा छु, आदि बन्(धनका कल्पनाहरू गर्न थाल्दछ ।

यही मनले यी बन्धनहरूलाई कसरी छुटाउने होला ? कसरी मोक्ष प्राप्ति गर्ने होला ? आदि पनि सोच्दछ । अनि साधनामा प्रवृत्त भई मोक्ष पनि प्राप्त गर्दछ । हे शिष्य ! मनुष्य मनका प्रपन्चहरू अनेकन छन् । मन नै बन्धन र मोक्षका कारण हुन् । तिमी मनलाई नष्ट गर । मनलाई विलय गरेर मोक्ष प्राप्ति गर ।

हादिसर्वविषये परिकल्प्य रागं बध्नाति तेन पुरुषं पशुवद्गुणेन ।
वैरस्यमत्र विषवत्सुविधाय पश्चादेनं विमोचयति तन्मन एव बन्धात् ।।१७५।।

यो मन देह–आदि सम्पूर्ण विषयमा रागको परिकल्पना गरेर त्यही रागको डोरीद्वारा मनुष्यलाई पशुझैं वाँध्छ । यही मन देह आदिप्रति विष समान निरसता उत्पन्न गरेर पुरुषलाई बन्धनबाट छुटाउँदछ । ।।१७५।।

वासनामय मन सर्वप्रथम देह, जगत्मा राग सिर्जना गर्दछ । अनि उ स्वभावत इन्द्रिय आदिका शब्द, रस, गन्धादि विषयहरूप्रति फलाम चुम्बकले तानिएझैं जगत्का अनेकन विषयहरूको रागपूर्ण चिन्तन गर्दछ । भोगको परिकल्पना गरिरहन्छ । ती विषयहरू भोग्न प्राप्त गर्न भित्रभित्र अनेकन प्रयासहरू (कर्महरू) गरिरहन्छ । जब मन जगत्का आकर्षणको चिन्तन गर्न थाल्दछ, उ रागको डोरीद्वारा जगत्मा बाँधिन्छ ।

जब मनुष्य शास्त्र, गुरु आदिको सम्पर्कमा आउँदछ । जब उ मोक्षको बारेमा सुन्दछ । स्वभावत् मन मोक्षप्रति आकर्षित हुन्छ । उ शास्त्र गुरु वचनको चिन्तन, मनन, अन्वेषण गर्न थाल्दछ । यदि साँच्चै मनले गुरु शास्त्रवचन ठीक हो भन्ने निर्णय दियो, भने उ साधना मार्गमा अग्रसर हुन थाल्दछ । साधना र चिन्तनले गर्दा मन हिजोसम्मका रागपूर्ण वासनालाई, आज विषयसमान मान्न थाल्दछ । साधनालाई निरन्तरता दिई साधक अन्नत मोक्ष प्राप्त गर्दछ ।

तस्मान्मनः कारणमस्य जन्तोर्बन्धस्य मोक्षस्य च वा विधाने ।
बन्धस्य हेतुर्मलिनं रजोगुणैर्मोक्षस्य शुद्धं विरजस्तमस्कम् ।।१७६।।

यसैले जीवको बन्धन वा मोक्षको विधानमा मन नै कारण हो । रजोगुणले मलीन भएको मन बन्धन । रज, तम, गुण रहित शुद्ध सात्विक मन मोक्षको कारण हो । ।।१७६।।

जब मन, रूप, रस, स्पर्श आदि अनेकन विषयहरूप्रति रागपूर्ण चिन्तन, भोगपूर्ण कल्पनाहरू गर्न थाल्दछ, मनुष्यलाई बन्धन प्राप्त हुन्छ । जब यही मन यही देह इन्द्रिय आदिका विषयहरूप्रति वैराग्य चिन्तन गर्दै यी विषयल(ाई त्यागीदिन्छ । मनुष्यलाई मोक्ष प्राप्त हुन्छ । अथवा मनको विषयप्रतिकोे रागले बन्धन र यही मनको विषयप्रतिकोे वैराग्य चिन्तन र त्यागले मोक्ष प्राप्त हुन्छ । त्यसैले मन नै जीवनको बन्धन र मुक्तिको कारण हो । अथवा मोक्ष र बन्धन एकै मनका दुईभिन्न अवस्था हुन ।

तर प्रश्न उठ्दछ की यो मनले कस्तो अवस्थामा बन्धन (वा विषय चिन्तन) अनि कस्तो अवस्थामा मोक्ष (वैराग्य चिन्तन) प्रति आकृष्ट हुन्छ । यो श्लोकमा भनिएको छ कि काम, क्रोध, लोभ, मोह आदि रजोगुणका धर्मद्वारा मलीन भएको मन बन्धन (विषय चिन्तन) अनि रज र तम रहित विशुद्ध शुद्ध, निर्मल मन मोक्षको (वैराग्य चिन्तन) को कारण बन्दछ ।

विवेकवैराग्यगुणातिरेकाच्छुद्धत्वमासाद्य मनो विमुक्त्यै ।
भवत्यतो बुद्धिमतो मुमुक्षोस्ताभ्यां दृढाभ्यां भवितव्यमग्रे ।।१७७।।

विवेक र वैराग्य गुणको उत्कर्षले गर्दा शुद्धता प्राप्त गरेको मन मुक्तिको कारण बन्दछ । अतः बुद्धिमान मुमुक्षुमा सर्वप्रथम यी दुई (विवेक, वैराग्य) दृढ हुनुपर्दछ । ।।१७७।।

नित्य–अनित्य वस्तुको सम्यक् ज्ञान नै विवेकको उत्कर्ष विन्दु हो । त्यस्तै दृश्य, श्रब्य आदि इन्द्रिय विषयदेखि लिएर ब्रह्मालोक पर्यन्तसम्मका सम्पूर्ण भोग पदार्थको त्याग वैराग्यको उच्च विन्दु हो । जब साधक साधनाद्वारा सम्यक्, विवेक र पूर्णवैराग्य प्राप्त गरी मनलाई पुर्णशुद्ध निर्मल बनाउँदछ, त्यो मन जगत्प्रति प्रवृत्त नहुने हुनाले मुक्तिको कारण बन्दछ । सम्यक् विवेक र वैराग्य विना मोक्ष प्राप्ति असम्भव भएकोले मुमुक्षुहरूले सर्वप्रथम विवेक र वैराग्य साधनामा दृढ स्थिर हुनुपर्दछ । यदि मनमा सूक्ष्मभन्दा सूक्ष्मरूपमा नै किन नहोस् जगत््प्रतिको राग जीवित छ भने मोक्ष असम्भव छ । यसकारण साधक विवेक र वैराग्यको उत्कर्षमा पुग्नु आवश्यक छ ।

मनो नाम महाव्याघ्रो विषयारण्यभूमिषु ।
चरत्यत्र न गच्छन्तु साधवो ये मुमुक्षवः ।।१७८।।

विषयरूपी महावनमा मन नाम गरेको भयंकर बाघ डुल्ने घुम्ने गर्दछ । अतः जो साधु मुमुक्षु छन् तिनीहरू त्यहाँ (विषयरूपी वन) नजाउन । ।।१७८।।

संसार विषयरूपी महावन हो । यो संसाररूपी महावनमारूप, रस, गन्ध, स्पर्श, शब्द आदि अनेकन भोगवस्तुहरू भएकोले वासनाहरूले भरिएको बाघ झैं शक्तिशाली मन यी वासनाप्रति आकर्षक भई एक निमेषमा नै साधकलाई भोगप्रति प्रवृत्त गराई पतन गराउँछन् ।

हे साधु मुमुक्षु ! तिमी मोक्ष चाहन्छौ भने अत्यन्त सावधान बन । तिमी विषयरूपी वनमा नजाउ, विषय भोगबाट प्राप्त हुने आनन्दको चिन्तन बन्द गर । स्मृतिबाट यो रोगरूपी महावनलाई विर्सिदेउ । यो वनको अनेकन फूल–फल आदिको आकर्षणलाई पनि विर्सिदेउ । विषयमय, भोगमय जगत्को चिन्तन गर्ने अवसर मनलाई नदिई आत्मा चिन्तनतर्फ प्रवृत्त गराउ । मनले तिमीलाई जगत्मा लैजान्छ । तिमी मनको प्रत्येक गतिसँग अत्यन्त सावधान वनी विषयरूपी वनमा प्रवेश नगर ।

मनः प्रसूते विषयानशेषान्स्थूलात्मना सूक्ष्मतया च भोक्तुः ।
शरीरवर्णाश्रमजातिभेदान्गुणक्रियाहेतुफलानि नित्यम् ।।१७९।।

भोक्ता जीवको लागि स्थूल र सूक्ष्म सम्पूर्ण विषय मनले उत्पन्न गर्दछ । तथा शरीर, वर्ण, आश्रम, जाती आदि भेद अनि गुण, क्रिया हेतु एवं फल पनि मनले नै उत्पन्न गर्दछ । ।।१७९।।

जागृत अवस्थामा स्थूल देहमा, सपना अवस्थामा सूक्ष्म देहमा, जति पनि विषय वासनाका चाहना कल्पनाहरू उठ्दछन् यी सम्पूर्ण मनमा संग्रहित वासनाहरूको कारण मनद्वारा नै सिर्जित हुन्छन् । त्यस्तै वर्ण (ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र), आश्रम (ब्रह्माचार्य, गृहस्थ, वानप्रस्थ, सन्यास) जाती (ब्राह्मण, क्षेत्री आदि), गुण (राग, आदि), क्रिया (लौकिक, वैदिक आदि), शुभ, अशुभ कर्मरूपी फलहरू पनि मनले नै उत्पन्न गर्दछ । सारांशमा मनले नै स्थूल र सूक्ष्म शरीरमा विषय, जाती, वर्ण, आश्रम आदिका अहंकार, गुण, क्रिया, आदि अनेकन भ्रम सिर्जना गरि साधकलाई पतन गराइरहन्छ ।

अस·चिद्रूपममुं विमोह्य देहेन्द्रियप्राणगुणैर्निबध्य ।
अहंममेति भ्रमयत्यजस्रं मनः स्वकृत्येषु फलोपभुक्तिषु ।।१८०।।

मनले अस· चेतन यो आत्मालाई देह, इन्द्रिय प्राण आदिका गुणहरूद्वारा मोहित गरेर म, मेरो भावबाट बाँधेर कर्म र कर्म फलभोगमा भट्काइरहन्छ । ।।१८०।।

असंग, चेतन स्वरूप आत्मालाई यो मनले देह, इन्द्रिय, प्राण आदि गुणहरूद्वारा बाँधिदिएर कर्ता, भोक्ता आदिको भाव सिर्जना गरिदिएर, स्व–स्वरूपको साक्षात्कार गर्न असमर्थ बनाई देहमा ‘म’ ‘मेरो’ गुणद्वारा बाँधेर अनेकन लौकिक, वैदिक कार्यमा अल्झाई फलवृत्तिमा भड्काई रहन्छ ।

अध्यासदोषात्पुरुषस्य संसृतिरध्यासबन्धस्त्वमुनैव कल्पितः ।
रजस्तमोदोषवतोऽविवेकिनो जन्मादिदुःखस्य निदानमेतत् ।।१८१।।

रज र तमरूपी दोषबाट युक्त अविवेकी पुरुष अध्यासको कारण जन्म मृत्युरूप संसारमा फस्दछ । यो अध्यासरूपी बन्धन यही मनद्वारा कल्पित हो । यो मन जन्म आदि दुःखको कारण हो ।।।१८१।।

रज र तमरूपी गुणहरूबाट युक्त सत्, असत् छुट्याउन असमर्थ अविवेकी पुरुष यी गुणहरूको विक्षेप र आवरण शक्तिको कारण आफ्नो वास्तविक स्वरूपलाई चिन्न असमर्थ हुन्छन् । अनि ‘म शरीर हुँ’, भनेर देहबुद्धिरूपी अध्यास सिर्जना गर्दछन् । जब मनुष्य देहलाई ‘म हुँ’ भनेर वुझ्दछ,स्वभावत् उ शरीरसँग एकाकार हुन पुग्दछ । अनि वासनाप्रति आकृष्ट भई वासनामा जीवनपर्यन्त लिप्त हुन्छ । यो अविद्या जीवन पर्यन्त रोग, व्याधी, बुढ्यौली, दुःख आदिको कारण अनि मृत्यु पश्चात् जन्म मरणको कारण बन्दछ । जबसम्म यो अज्ञान रहिरहन्छ । यो क्रम चलिरहन्छ ।

अतः प्राहुर्मनोऽविद्यां पण्डितास्तङ्खवदर्शिनः ।
येनैव भ्राम्यते विश्वं वायुनेवाभ्रमण्डलम् ।।१८२।।

त्यसैले तङ्खवदर्शी विद्वान्हरूले मनलाई अविद्या भनेका छन् । वायुले वादलको समूहलाई घुमाएझैं मनले सम्पूर्ण विश्वलाई भ्रममा पारेर घुमाउँछ । ।।१८२।।

तमोगुणको आवरण शक्ति र रजोगुणको विक्षेप शक्तिद्वारा अशुद्ध वासनामय मन जगत्का वासनाहरूप्रति प्रवृत्त भई मनुष्य बन्धनको प्रमुख कारक बन्ने भएकोले आत्म साक्षात्कार गरेका तङ्खवदर्शी पुरुषले यो मनलाई अविद्या भनेका छन् ।
स्पष्ट छ वासनायुक्त मनले मनमा संग्रहित वासनाको प्रकृती अनुसार मनुष्यलाई जगत्मा यसरी घुमाउँछ जसरी तीव्रवायुले आकाशमा मेघलाई घुमाउँछ ।

तन्मनःशोधनं कार्यं प्रयत्नेन मुमुक्षुणा ।
विशुद्धे सति चैतस्मिन्मुक्तिः करफलायते ।।१८३।।

त्यसैले मुमुक्षुले प्रयत्नपूर्वक मनको शोधन गर्नु पर्दछ । किनकि यो विशुद्ध भएपछि मुक्ति हातमा राखेको फलझैं सहजै प्राप्त हुन्छ । ।।१८३।।

माथिका विविध श्लोकहरूमा स्पष्ट व्याख्या गरिसकिएको छ कि मनमा उपस्थिती तम र रजोगुण, अनि यी गुणको कारणले मनमा सिर्जना हुने आवरण र विक्षेप शक्तिका कारण वहिर्मुखी हुने मनले मनुष्यलाई आत्मासाक्षात्कार गर्न नदिने हुनाले मनुष्यलाई जन्म जन्मसम्म बन्धन प्राप्त भइरहन्छ ।

यसैले मोक्षका साधकहरूले, प्रयत्नपूर्वक मनको सोधन गर्नुपर्दछ । अथवा साधन चतुष्टयका दुई प्रमुख साधन विवेक र वैराग्यरूपी तलवारद्वारा मनको यो अविद्या
(वासनाप्रति प्रवृत्त हुने स्वभाव) लाई नष्ट गरि दिनुपर्दछ ।जब तीव्र विवेक र वैराग्य साधनाद्वारा मन विस्तारै विस्तारै निर्मल, गुणरहित, क्लेशरहित, हुन पुग्दछ । यो साधना प्रक्रियाको अन्तिम स्थितीमा परब्रह्मासँग एकाकार वन्न पुगी साधकले मोक्ष प्राप्ति गर्दछ । मन विशुद्ध भएपछि मुक्ति हातमा राखेको फल झैं सहजै प्राप्त हुन्छ ।

मोक्षैकसक्त्या विषयेषु रागं निमूल्य संन्यस्य च सर्वकर्म ।
सच्छ्र«द्धया यः श्रवणादिनिष्ठो रजः स्वभावं स धुनोति बुद्धेः ।।१८४।।

तीव्र मुमुक्षुताद्वारा विषयप्रतिको आसक्ति परित्याग गरेर तथा सम्पूर्ण (वासना) कर्मलाई त्यागेर श्रद्धापूर्वक वेदान्त श्रवण आदिमा निष्ठावान पुरुष बुद्धिको रजोगुणी स्वभाव (विक्षेप) लाई नष्ट गर्दछ । ।।१८४।।

जुन पुरुषको मोक्षप्रति तीव्र आशक्ति छ । मोक्ष प्राप्तिमात्र जसको जीवनको लक्ष्य छ । त्यो गम्भीर साधकले देहदेखि जगत् पर्यन्तका सम्पूर्ण विषयप्रतिको आसक्तिलाई अनि यी आसक्तिलाई मलजल गर्ने सांसारिक वासना कर्महरूलाई त्यागेर मोक्षका महान् शास्त्र वेद आदिका अमृतमय ज्ञानरूपी वचनलाई हृदयदेखी श्रद्धापूर्वक श्रवण, मनन र चिन्तन गरी जीवनमा आत्मसात गर्न सक्दछ । त्यो मुमुक्षुले बुद्धिका रजोगुणी स्वभाव (काम, क्रोध, लोभ आदि) लाई नष्ट गरी मोक्षको लागि पात्रता तयार पार्दछ ।

मनोमयो नापि भवेत्परात्मा ह्याद्यन्तवत्त्वात्परिणामिभावात् । दुःखात्मकत्वाद्विषयत्वहेतोर्दृष्टा हि दृश्यात्मतया न दृष्टः ।।१८५।।

आदि र अन्तवान् भएकोले, परिणामी दुःखात्मकर विषयरूप भएकोले यो मनोमय कोष आत्मा होइन । किनकि जो दृष्टा हुन्छ, त्यो दृश्य रूपमा कहिं पनि देखिएको छैन । ।।१८५।।

सुषुप्ति अवस्था लीन हुने, जागृत अवस्थामा उत्पन्न हुने अथवा आदि र अन्त स्वभाव भएको संकल्प आदिबाट कर्म परिणामलाई प्राप्त गर्ने भएकोले परिणामी, अध्यास स्वरूप भएकोले दुःखात्मक, रजोगुणी, तमोगुणी वासनाद्वारा भरिएकोले विषयरूप, यस्तो मनोमय कोश, मनका सम्पूर्ण अवस्था (जागृत, सपना, सुषुप्तिले) युक्त यो मनोमय कोष आत्मा होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 815 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 679 0
शिष्य लक्षण 1/15/2023 840 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 818 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 816 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 948 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 642 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1428 0
रजोगुण 1/15/2023 768 0
तमोगुण 1/15/2023 678 0
सङ्खवगुण 1/15/2023 771 0
कारण शरीर 1/15/2023 908 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 944 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 690 0
अन्नमय कोश 1/15/2023 770 0
प्राणमय कोश 1/15/2023 782 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 630 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 615 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 951 0
महावाक्य – विचार 1/15/2023 850 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 843 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 780 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 702 0
आत्म दृष्टि 1/15/2023 777 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 745 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 726 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0